आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयकमा १३ बुँदे संशोधन

लोकपथ
0
Shares

काठमाडौं । सरकारले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ मा सांसदहरूले दिएका सुझाव समेट्दै १३ वटा बुँदामा संशोधन गरेको छ ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक तथा दफावार छलफलका क्रममा पर्यटनमन्त्री खड्गराज पौडेलले सांसदहरूबाट प्राप्त सुझावका आधारमा विधेयकलाई थप व्यावहारिक र स्पष्ट बनाइएको जानकारी दिए ।

उनका अनुसार विधेयकमा १५ वटा संशोधन प्रस्ताव परेकामा १३ वटा संशोधन समेटिएका छन् । कानुनी प्रावधानमा दोहोरो अर्थ नलागोस् र सर्वसाधारणले सहज रूपमा बुझ्न सकून् भन्ने उद्देश्यले विधेयकको भाषालाई समेत सरल बनाइएको उनले बताए ।

मन्त्री पौडेलले विधेयकले हवाई भाडा वृद्धि नगर्ने दाबी गर्दै यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षित र भरपर्दो हवाई सेवा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

छलफलका क्रममा सांसदहरूले उठाएको प्रचारप्रसारको विषयलाई सम्बोधन गर्दै सरकारले विधेयक कार्यान्वयनसँगै राष्ट्रव्यापी सचेतना अभियान सञ्चालन गर्ने तयारी गरेको पनि मन्त्री पौडेलले जानकारी दिए ।

यात्रुहरूलाई आफ्ना अधिकार तथा वायुसेवा कम्पनीका दायित्वबारे जानकारी गराउन विभिन्न माध्यमबाट प्रचारप्रसार गरिने उनले बताए । सरकारले विधेयक कार्यान्वयनका लागि आवश्यक तयारी तत्कालै सुरु गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?