पिंकवाक २०२६ का लागि दर्ता खुला

लोकपथ
14
Shares

काठमाडौं । स्तन क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना हुन लागेको ‘पिंकवाक २०२६’ का लागि दर्ता खुला गरिएको छ ।

आयोजकका अनुसार पिंकवाक असोज १७ गते शनिबार बिहान ६ बजे काठमाडौंको बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरबाट सुरु हुनेछ । पदयात्रा ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म हुनेछ ।

पिंकवाकमा सहभागी हुन इच्छुक व्यक्ति, संघसंस्था तथा समुदायका सदस्यले ईसेवामार्फत अनलाइन दर्ता गर्न सक्नेछन् । त्यसका लागि आयोजकले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्नेछ ।

त्यस्तै, ईसेवा एपमार्फत पनि दर्ता गर्न सकिनेछ। त्यसका लागि ईसेवा एप खोलेर ‘भोटिङ एन्ड इभेन्ट्स’ मा गई ‘पिंकवाक’ छनोट गर्नुपर्नेछ ।

पिंकवाकमार्फत स्तन क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण र समयमै उपचारको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्य राखिएको छ। साथै, क्यान्सरबाट प्रभावित व्यक्ति र उनीहरूका परिवारप्रति ऐक्यबद्धता जनाउने कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, प्रभावित परिवार, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ ।

पिंकवाक २०२६ इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको हो। कार्यक्रममा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीलगायत संस्थाको सहयोग रहेको छ ।

आयोजकले स्तन क्यान्सरविरुद्धको सचेतना अभियानमा सामूहिक सहभागिता जनाउन सर्वसाधारणलाई पिंकवाकमा सहभागी हुन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?