संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

अध्यादेश प्रतिस्थापनका छ वटा विधेयक पारित गरी प्रमाणीकरण

लोकपथ
56
Shares

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्क बैठकले असोज १६ गते शुक्रबारदेखि अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको जानकारी दिइन् ।

संविधानअनुसार संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

संघीय संसद्को चालु अधिवेशन वैशाख २८ गतेदेखि सुरु भएको थियो । अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो ।

यस्तै, अध्यादेश प्रतिस्थापनका छ वटा विधेयक पारित गरी प्रमाणीकरण भएका छन् । वैकल्पिक वित्त परिचालन विधेयक, नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयक तथा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पनि पारित गरी प्रमाणीकरण भएका छन् ।

प्रतिनिधि सभामा दस वटाभन्दा बढी विधेयक विभिन्न चरणमा समितिहरूमा विचाराधीन छन् ।

यसै अधिवेशनमा प्रतिनिधि सभाले जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न विशेष समिति गठन गरेको थियो ।

अधिवेशनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले एक पटक आकस्मिक प्रश्नोत्तर कार्यक्रममा भाग लिएका थिए । यस्तै, परराष्ट्रमन्त्री तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसँग प्रश्नोत्तर भएको थियो ।

पूर्वाधार विकासमन्त्री तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसँग पनि प्रतिनिधिसभामा प्रश्नोत्तर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?