पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर पक्राउपछि सर्वोच्चमा बस्यो आकस्मिक फुलकोर्ट, भन्यो- ‘स्वेच्छाचारिता स्वीकार्य छैन’

लोकपथ
0
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेको विषयमा सर्वोच्च अदालतको फुलकोर्ट (सबै न्यायाधीशको बैठक) ले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सोमबार बोलाएको आकस्मिक पूर्ण बैठकले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा थ्रेट भन्दै अपराध अनुसन्धान कार्यालयको टोलीले असोज १० गते राति घरमा सुतिरहेको अवस्थामा नियन्त्रणमा लिई टेकुस्थित प्रहरी कार्यालय लगेको थियो । उनलाई १० घण्टापछि परिवारको जिम्मा लगाइएको थियो ।

सर्वाेच्चले कानुनको उचित प्रक्रिया पूरा नगरी गरिने कामकारबाहीमा स्वेच्छाचारिताको प्रचुरता रहने हुँदा त्यस्ता कामकारबाहीलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न सक्दैन भन्ने न्यायालयको दृढ प्रतिबद्धता रहेको जनाएको छ । साथै न्यायिक जनशक्तिप्रति राज्यका निकायहरुले गर्ने व्यवहार सदैव संवेदनशील र गम्भीर विषय बन्ने पनि पूर्ण बैठकको निष्कर्ष छ ।

‘प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणार्थ प्रचलित कानुनले निर्धारण गरेको उचित प्रक्रिया अपनाएर मात्र नियन्त्रणमा लिन सकिने प्रत्याभूति गरेको छ। उक्त कानुनको उचित प्रक्रिया पूरा नगरी गरिने कामकारबाहीमा स्वेच्छाचारिताको प्रचुरता रहने हुँदा त्यस्तो कामकारबाहीलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न सक्दैन भन्ने हाम्रो दृढ प्रतिवद्धता छ,’ बैठकका निर्णयबारे अदालतका प्रवक्ता अर्जुन कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपालको संविधानले स्वतन्त्र, निस्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यको रुपमा आत्मसात गरेको र पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश एवं बहालवाला प्रत्येक न्यायाधीश र न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाको अभिन्न अंगको रुपमा रहेको कुरा पनि सर्वोच्चले स्मरण गराएको छ ।

सर्वोच्चले पूर्व पदाधिकारीसँग जोडेर न्याय सम्पादनको क्रममा भएका वा हुने कुनै पनि कामकारबाहीलाई चित्रण वा सम्प्रेषण नगरिदिन पनि सर्वोच्चले सरोकारवालाहरुलाई समक्ष अनुरोध गरेको छ ।

‘न्यायपालिकाबाट सम्पादन हुने न्याय सम्पादन लगायतका हरेक कामकारबाहीमा बाह्य वा आन्तरिक कुनै पनि प्रकारको प्रभावलाई किन्चित पनि स्थान नदिइने कुराको आम नागरिक समक्ष यो पूर्ण बैठक विश्वास दिलाउन चाहन्छ,’ आकस्मिक पूर्ण बैठकको निर्णयमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?