मनास्लुमा भारी हिमपात, आरोही धमाधम फर्किँदै

लोकपथ
182
Shares

गोरखा । भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु हिमाल आरोहणका लागि मौसम प्रतिकूल बनेपछि आरोहीहरू बीच बाटोबाटै फर्किन थालेका छन् ।

दुई सातासम्म मौसममा सुधार नआएपछि आरोहीहरू फर्किन थालेको मनास्लु हिमाल नजिकैको चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए । उनका अनुसार मनास्लु क्षेत्रमा निरन्तर वर्षासँगै वरपर करिब पाँच फिटसम्म बाक्लो हिमपात भएको छ ।

‘यस्तो त कहिल्यै भएको थिएन । खै के भएको हो, पानी र हिउँ परिरहेको छ,’ वडाध्यक्ष लामाले भने, ‘झन् ८ गतेदेखि १२ गतेसम्म सरकारले सतर्क रहन भनेको छ। त्यही भएर आरोही धमाधम फर्किएका छन् ।’

मौसममा सुधार आए पनि यस याममा फेरि फर्केर आरोहणमा जाने सम्भावना नरहेको उनले बताए । स्थानीय व्यवसायी प्रबल लामाका अनुसार विगतका वर्षमा मनास्लु क्षेत्रमा हतपत वर्षा हुँदैनथ्यो । भए पनि अत्यन्त न्यून हुने गरेकोमा यसपटक भने दुई सातादेखि निरन्तर पानी परिरहेको छ ।

‘बेस क्याम्पमा आरोही आउन थालेको सन् २०१४ देखि हो । यो १२ वर्षको अवधिमा यस्तो कहिल्यै देखिनँ,’ उनले भने, ‘यो वर्ष पानी ननस्टप परिरहेको छ । हिमपात पनि उस्तै छ। बेस क्याम्पमै तीन फिटसम्म हिउँ परेको छ । क्याम्प–१, क्याम्प–२ र क्याम्प–३ तिर सात–आठ फिट बाक्लो हिउँ परिसकेको छ ।’

जोखिम बढेपछि आरोहीहरू फर्किएको उनले बताए । मौसम प्रतिकूल बनेपछि केही आरोही फर्किए पनि अझै धेरै आरोही त्यस क्षेत्रमा रहेको सामागाउँका होटल व्यवसायी मिङ्मार छिरिङ लामाले बताए ।

‘हिमाल चढ्न नसकेर पोहोरतिर पनि फर्कन्थे। यसपालि चाहिँ अलि धेरै फर्केका छन् । मौसम प्रतिकूल भएर होला,’ उनले भने, ‘अहिलेसम्म १० प्रतिशत जति फर्किए होलान् ।’

विश्वमै ख्याति प्राप्त ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस याममा करिब पाँच सय आरोहीले अनुमति लिएका छन् ।

गत वर्ष ६७ देशका ४१ समूहका ३६६ पुरुष र १२७ महिला गरी ४९३ जना आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका थिए । त्यसबाट नेपाल सरकारलाई २२ करोड ४८ लाख १४ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?