बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनले थाले परामर्श

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अहिले ११ बजेबाट नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग छलफल सुरु गरेका हुन् ।

प्रभावित क्षेत्रमा बाढीपछिको अवस्थाबारे समीक्षा, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थानलगायतका विषयमा छलफल केन्द्रित रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा नुवाकोटका प्रतिनिधिसभा सदस्यहरू विक्रम तिमिल्सिना र ‍अच्युतम लामिछाने तथा नुवाकोटको विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका नगर प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी लगायतको सहभागिता रहेको छ ।

यसैगरी, रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ रहेका छन् । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले भने अनलाइनमार्फत छलफलमा सहभागिता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

धादिङको गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) छलफलमा उपस्थित रहेका छन् ।

तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना (साकार) पनि छलफलमा सहभागी भएका छन् ।

भदौ १० को भोटेकोशी बाढीपछि सरकारले रसुवा, नुवाकोट र धादिङको विभिन्न स्थानीय निकायलाई संकटग्रस्थ क्षेत्र घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?