गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

लोकपथ
0
Shares

नवलपरासी । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–१२, हर्कपुरमा दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् ।

शनिबार बिहान करिब ६ः५० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत हर्कपुरमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु।२ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु।२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका हुन् । घाइते सबैलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये लु।२ ख ६४५७ नम्बरको बसमा सवार कालिकोट तिलागुफा नगरपालिका–३ का ३६ वर्षीय धनमान हमाल र गैँडाकोट नगरपालिका–५ की ६० वर्षीया लीला थापाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

त्यस्तै, लु।२ ख ६०३६ नम्बरको बसका चालक भरतपुर महानगरपालिका–४ का ४७ वर्षीय सन्तोषबहादुर गुरुङसहित ७ जनाको नयाँ चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूमा गैँडाकोट–७ की १२ वर्षीया आत्रिया पौडेल, गैँडाकोट–१५ की ४० वर्षीया माधवा ज्ञवाली, गोरखाका ३५ वर्षीय शंकर बयलकोटी, गैँडाकोट-२ की ३८ वर्षीया सीता ज्ञवाली, उनकी ११ वर्षीया छोरी जस्विन ज्ञवाली र चितवन रत्ननगर–२ की १० वर्षीया दिभा रानाभाट रहेका छन् ।

त्यस्तै, पुरानो चितवन मेडिकल कलेजमा बारा कलैया-९ का ६० वर्षीय मोहन भैया साह, भरतपुर–२ की ३१ वर्षीया निशा तिवारी र उनका ८ वर्षीय छोरा ऐट्रेन भट्ट, दाङका करिब ५५ वर्षीय निमलाल खड्का र उनकी ५५ वर्षीया श्रीमती अमृता खड्का, रुपन्देही मायादेवी गाउँपालिका–६ का ५७ वर्षीय मनोज गुरुङ र उनकी ५१ वर्षीया श्रीमती हुमा गुरुङ, गैँडाकोट-५ का ५२ वर्षीय प्रेमबहादुर रानाभाट तथा गैँडाकोट–६ की करिब ४३ वर्षीया मिरा आचार्यको उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?