काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाएसँगै शेयर बजारमा त्यसको तत्काल असर देखिएको छ ।
जानकी फाइनान्स कम्पनी र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने उद्देश्यसहित प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको खबर सार्वजनिक भएपछि दुवै संस्थाको सेयरमा बिक्री चाप बढेको हो ।
सोमबारको कारोबारमा बजार खुल्नेबित्तिकै जानकी फाइनान्स र सिन्धु विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो । कारोबार बन्द हुँदा जानकी फाइनान्सको सेयर मूल्य १४.९९ प्रतिशतले घटेको छ भने सिन्धु विकास बैंकको मूल्य १५ प्रतिशतले ओरालो लागेको छ ।
तीव्र गिरावटपछि सिन्धु विकास बैंकको शेयर मूल्य प्रतिकित्ता ४९७ रुपैयाँमा झरेको छ । त्यस्तै, जानकी फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ३१३ रुपैयाँ कायम भएको छ ।
एक्विजिसनभन्दा बढी चिन्ता स्वाप रेसियोको
मुक्तिनाथ विकास बैंकले दुवै संस्थालाई प्राप्ति गर्ने खबर आएपछि लगानीकर्ताको मुख्य चासो अब शेयर आदानप्रदान अनुपात अर्थात् स्वाप रेसियो कति कायम हुन्छ भन्नेमा केन्द्रित भएको देखिन्छ ।
बजार विश्लेषकहरूको बुझाइमा जानकी फाइनान्स र सिन्धु विकास बैंकको तुलनात्मक वित्तीय अवस्था कमजोर रहेको छ । दुवै कम्पनीको सेयर पुँजी कम अर्थात् ‘लो क्याप’ भएका कारण पछिल्लो समय बजारमा सेयर मूल्य तुलनात्मक रूपमा उच्च बनेको विश्लेषण हुँदै आएको थियो ।
यस्तो अवस्थामा सबल वित्तीय संस्थाले कमजोर वित्तीय अवस्था भएका संस्थालाई प्राप्ति गर्दा स्वाप रेसियो कम हुन सक्ने अपेक्षा गरिन्छ। यही सम्भावनाले लगानीकर्तालाई प्राप्ति प्रक्रियाको अन्तिम परिणामभन्दा अगाडि नै सेयर बेच्न दबाब दिएको देखिन्छ ।
स्वाप रेसियो कम भएमा हाल कायम बजार मूल्यको तुलनामा प्राप्ति हुने संस्थाका सेयरधनीले अपेक्षा गरेभन्दा कम अनुपातमा प्राप्तकर्ता संस्थाको सेयर पाउने अवस्था आउन सक्छ। यही जोखिमको आकलन गर्दै बजारमा जानकी फाइनान्स र सिन्धु विकास बैंकको सेयरमा बिक्री बढेको देखिएको हो।
नेप्सेमा सर्वाधिक गुमाउनेमध्ये जानकी र सिन्धु
सोमबारको कारोबारमा सेयर मूल्यमा उच्च गिरावट आउने कम्पनीको सूचीमा जानकी फाइनान्स र सिन्धु विकास बैंक पनि परेका छन् ।
एक्विजिसनको औपचारिक प्रक्रिया अघि बढेको समाचारसँगै आएको यस्तो तीव्र प्रतिक्रियाले बजारमा कम्पनीको मूल्यांकन र प्राप्ति प्रक्रियाबाट हुने सम्भावित लाभ–हानिबीचको सम्बन्धलाई समेत उजागर गरेको छ ।
प्राप्ति गर्ने मुक्तिनाथमाथि पनि बिक्री चाप
दुई वित्तीय संस्थालाई आफ्नो मातहत ल्याउने तयारी गरिरहेको मुक्तिनाथ विकास बैंकको सेयरमा पनि सोमबार नकारात्मक प्रभाव देखिएको छ ।
समाचार तयार पार्दाको समयसम्म मुक्तिनाथ विकास बैंकको सेयर मूल्य २.३३ प्रतिशतले घटेको छ। यसको अन्तिम मूल्य प्रतिकित्ता ३४८ रुपैयाँ कायम भएको छ ।
वित्तीय क्षेत्रका जानकारहरूका अनुसार ठूला संस्थाले साना तथा तुलनात्मक रूपमा कमजोर वित्तीय अवस्था भएका कम्पनीहरूलाई प्राप्ति गर्ने प्रक्रियामा प्रवेश गर्दा सुरुवाती चरणमा लगानीकर्ताबीच अन्योल र संशय उत्पन्न हुनु सामान्य हो । यस्तो संशयको प्रत्यक्ष असर सम्बन्धित कम्पनीहरूको सेयर मूल्यमा देखिन सक्छ ।
जानकी फाइनान्स र सिन्धु विकास बैंकको हकमा भने एक्विजिसनको समाचार सार्वजनिक भएलगत्तै आएको तीव्र गिरावटले आगामी स्वाप रेसियोप्रतिको बजार अपेक्षालाई तत्कालै मूल्यमा प्रतिबिम्बित गरेको देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया