विपद्पछि पुनर्निर्माण मात्रै होइन, विकास निर्माणको ढाँचा नै बदल्नुपर्छ : मन्त्री गौतम

लोकपथ
21
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपालले विकास निर्माण र भौतिक पूर्वाधारको ढाँचा नै परिवर्तन गर्नुपर्ने बताएकी छन् ।

पछिल्ला वर्षमा नेपालका विभिन्न क्षेत्रमा भएका बाढी, पहिरो र भूकम्पजस्ता विपद्लाई हेर्दा पुरानै शैलीमा निर्माण गरेर मात्र भविष्य सुरक्षित नहुने उनको भनाइ छ ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री गौतमले जुरे पहिरो, २०७२ सालको भूकम्प, भोटेकोशी र मेलम्चीको बाढी, सोलुखुम्बुको थामेमा आएको बाढी तथा हालै रसुवामा भएको विपद्लाई उदाहरणका रूपमा प्रस्तुत गरेकी छन् ।

उनले नेपालले विश्वमा कार्बन उत्सर्जन निकै कम गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोगिरहेको बताएकी छन् । जलवायु परिवर्तनका कारण घर, रोजगारी, शिक्षा, स्वास्थ्य र सडकजस्ता आधारभूत संरचना गुमाउनुपर्ने अवस्था आएको उनले उल्लेख गरेकी छन् ।

मन्त्री गौतमले अब ‘भत्किएको संरचना कसरी बनाउने’ भन्दा पनि ‘विपद् सहन सक्ने गरी कसरी निर्माण गर्ने’ भन्ने विषयमा ध्यान दिनुपर्ने बताएकी छन् ।

उनका अनुसार जोखिमयुक्त नदी किनार र भिरालो जमिनमा घर बनाउने परम्परागत सोच परिवर्तन गर्न आवश्यक छ । सुरक्षित भूउपयोग, योजनाबद्ध बस्ती, सुरक्षित विद्यालय तथा अस्पताल र जलवायु अनुकूल पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने उनले बताएकी छन् ।

आवश्यक ठाउँमा योजनाबद्ध पुनर्वासको व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिएकी छन् । विपद् र जलवायु उत्थानशीलतालाई हरेक विकाससम्बन्धी कानून, नीति, योजना र पूर्वाधार निर्माणको आधार बनाउनुपर्ने उनको भनाइ छ ।

मन्त्री गौतमले नदी, हिमाल र हिमनदीलाई नियन्त्रण गर्न नसकिए पनि विपद्को सामना गर्न सक्ने नेपाल बनाउन सकिने बताएकी छन् ।

उनले विपद् आएपछि पुनर्निर्माण गर्ने पुरानो चक्रबाट बाहिर निस्केर देशको विकास निर्माणको ढाँचा नै परिवर्तन गर्ने समय आएको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?