‘डीएनए’ नमुना संकलनपछि २८० शवको व्यवस्थापन

लोकपथ
28
Shares

नारायणगढ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डीएनए’ नमुना संकलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा व्यवस्थापन गरिएको छ ।
 
भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार यही भदौ १० गते रातिदेखिनै सुरक्षाकर्मीले त्रिशूली नदीबाट संकलन गरेका शव अस्पतालमा ल्याई संरक्षण गरेका थिए । 

भदौ ११ गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फरेन्सिक परीक्षण, डीएनएलगायत जैविक नमुना संकलन तथा अभिलेखीकरणको काम सुरु गरिएको हो ।
 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशूली र नारायणी नदीबाट ३२१ शव संकलन गरिएको छ । तीमध्ये १२ शवको सनाखत भई आफन्तले बुझिसकेका छन् । 

संकलित शवमध्ये ६६ महिला, ११६ पुरुष, सात बालक, ६ बालिका र १२६ पहिचान खुल्न नसकेका वा अवस्था नखुलेका शव रहेका छन् ।

उनले भविष्यमा पहिचान गर्न सकिने गरी अन्तर्राष्ट्रिय मान्यताअनुसार देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा ती शवको व्यवस्थापन गरिएको बताए । 

भदौ १३ गते ९६ शव, भदौ १४ गते १०३ शव र भदौ १५ गते ८१ शव व्यवस्थापन गरिएको छ ।

प्रहरी उपरीक्षक पौडेलले नदी किनारमा शव खोज्ने कार्य जारी रहेको बताए । नदीबाट फेला परेका शव भरतपुर अस्पताल ल्याई फरेन्सिक परीक्षण र डीएनए नमुना संकलन गरेपछि देवघाटस्थित व्यवस्थापनस्थलमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य निरन्तर भइरहेको उनले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?