काठमाडौं । रसुवागढी बाढीपछि देश नै शोकमा छ । बाढीमा हराएकाहरुको आफन्त र परिवारले सकुशल उद्धारको पर्खाइमा छन् ।
देशको र नागरिकको सुरक्षाका लागि खटिने ठूलो संख्यामा सुरक्षाकर्मीहरु हराएका छन् । जसको परिवार अझै सकुशल आउने आशामा छन् ।
भदौ १० को बाढीमा धेरै नेपाली सेना समेत हराइरहेका छन् । ती मध्ये एक हुन् नेपाली सेनाका सहसेनानी रामराजा रिमाल ।
बाढीको इपीसेन्टर बनेको रसुवाको मैलुङस्थित आर्मी शेरगण चेकपोस्टको कमाण्ड सम्हाल्न रिमाल भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भए ।
भदौ ५ गते काठमाडौंबाट सरुवा भएर रसुवा पुगेका रिमाल भदौ १० गते बिहान करिब ९ बजेर ९ मिनेटको समयमा परिवारसँगको सम्पर्कमा थिए । श्रीमती मीना थापासँगै भिडियो कलमा कुरा हुँदाहुँदै एक्कासी फोन काटियो त्यसपछि भने कुनै कुरा हुन पाएन ।
उनी सम्पर्कविहीन भएपछि नै परिवार र सुरक्षा निकायले खोजी तिव्र पारिरहेका छन्, तर अहिलेसम्म कुनै पनि जानकारी नआएको राजारामका सहोदर भाई रामचन्द्र रिजाल (आरसी) ले बताए ।
‘त्यस दिन बिहान भाउजुसँग कुरा हुँदाहुँदै फोन काटियो, त्यसपछि उहाँले पटकपटक सम्पर्क गर्न खोज्नुभयो तर लाग्न सकेन,’ उनले भने ।
हराएपछि उनका परिवार र आफन्तले व्यक्तिगत तबरबाटै खोजीलाई जारी राखेका छन् तर अहिलेसम्म कुनै कुरा पत्ता लाग्न नसकेको रामचन्द्र बताउँछन् ।
‘सुरक्षा निकायबाट पनि खोजी भइरहेको छ । हामी परिवार र आफन्तले पनि आफ्नो तबरबाट खोजीरहेका छौँ तर केही पत्ता लगाउन सकिएको छैन,’ उनले लोकपथसँग भने ।
पुर्ख्यौली घर नुवाकोटको त्रिशूली भए पनि उनको परिवार काठमाडौंको तारकेश्वर नगरपालिकामा बस्दै आइरहेका छन् ।
खोजीकै शिलशिलामा अहिले आरसी केही आफन्तसहित चितवनमा पुगेका छन् ।
भदौ १० को आकस्मिक बाढीका कारण मुख्यगरी रसुवा, नुवाकोटमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ । त्यसका अलवा धादिङ, चितवनमा समेत क्षति पुर्याएको छ ।
बाढीमा नेपाली सेना मात्र होइन, नेपाल प्रहरी र सशस्त्र प्रहरीका समेत थुप्रै बेपत्ता रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया