खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौं ल्याइदै

लोकपथ
63
Shares

खोटाङ । खोटाङमा धार्मिक मेला भरेर घर फर्कँदै गरेका भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दूधकुण्डमा लागेको धार्मिक मेला भरेर फर्कँदै गरेको ना५त ४५५५ नम्बरको ट्याक्टर सोही नगरपालिकाको वडा नं. २ सोल्मास्थित छेपेखोलामा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार गुडिरहेको ट्याक्टरको पछाडिको भाग सडकको बीचमा घोप्टिएपछि दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी जिल्ला अस्पताल दिक्तेल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । जिल्लामा उपचार सम्भव नभएपछि अस्पतालले २० जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरेको छ भने १४ जनाको जिल्ला अस्पताल दिक्तेलमै उपचार भइरहेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईका अनुसार रेफर गरिएका घाइतेलाई एम्बुलेन्स तथा सुमो जिप रिजर्भ गरी काठमाडौं पठाइएको छ । दिउँसोदेखि भइरहेको भीषण वर्षाका कारण उद्धार तथा घाइतेलाई अस्पताल लैजानसमेत समस्या भएको उनले बताए ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार घाइतेको टाउको, हातखुट्टा तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । प्रत्यक्षदर्शीका अनुसार दुर्घटना दिउँसो करिब २ बजे भएको हो ।

दुर्घटनालगत्तै प्रहरीले ट्याक्टर चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–७ का २३ वर्षीय रिनिमा शेर्पालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङतर्फबाट दिक्तेल आउँदै गरेको खाली ट्याक्टर रोकेर त्यसमा भक्तजनलाई चढाइएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?