अब बीमा कम्पनीले कुल व्यवसायकाे २० प्रतिशत डाइरेक्ट सेसन नेपाल पुनर्बीमा कम्पनीमै गर्नुपर्ने

लोकपथ
28
Shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा निर्देशिका, २०८० लाई पाँचौँ पटक संशोधन गर्दै बीमा कम्पनीहरूले गरेको कुल बीमाको २० प्रतिशत डाइरेक्ट सेसन नेपाल पुनर्बीमा कम्पनीमा गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्राधिकरणले निर्देशिकाको दफा ७ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । संशोधित व्यवस्थाअनुसार अब बीमा कम्पनीहरूले आफ्नो कुल बीमाको २० प्रतिशत जोखिम अनिवार्य रूपमा नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्नुपर्नेछ ।

यसअघि बीमा कम्पनीहरूले डाइरेक्ट सेसनको १० प्रतिशत नेपाल पुनर्बीमा कम्पनी र १० प्रतिशत हिमालयन रिइन्स्योरेन्समा गर्नुपर्ने व्यवस्था थियो । उक्त व्यवस्था क्रमशः घटाउँदै लगिएको थियो । आर्थिक वर्ष २०८२र८३ मा आइपुग्दा दुवै कम्पनीलाई गर्नुपर्ने डाइरेक्ट सेसन ४–४ प्रतिशतमा सीमित भएको थियो ।

अब भने डाइरेक्ट सेसनको सम्पूर्ण २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीमै गर्नुपर्ने व्यवस्था गरिएको हो ।

हिमालयन रिइन्स्योरेन्स स्थापना हुनुअघि भने बीमा कम्पनीहरूले डाइरेक्ट सेसन नेपाल पुनर्बीमा कम्पनीमै गर्नुपर्ने व्यवस्था थियो । हिमालयन रिइन्स्योरेन्स स्थापना भएपछि डाइरेक्ट सेसन दुई पुनर्बीमा कम्पनीबीच बाँडफाँट गरिएको थियो ।

चालु आर्थिक वर्षको बजेटमार्फत नै बीमा कम्पनीहरूले डाइरेक्ट सेसन नेपाल पुनर्बीमा कम्पनीमै गर्नुपर्ने व्यवस्था गरिएको थियो । सोही व्यवस्थालाई कार्यान्वयन गर्ने गरी प्राधिकरणले पुनर्बीमा निर्देशिका संशोधन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?