रास्वपाको दुई दिने ‘नीति, संगठन र नेतृत्व’ मन्थन सुरु

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको ‘नीति, सङ्गठन र नेतृत्व’ विषयक दुईदिने कार्यशाला सुरु भएको छ ।

‘रास्वपा कार्यशाला–नीति, सङ्गठन र नेतृत्व, शृङ्खला–१’ नाम दिइएको कार्यशालामा पार्टीको नीति, सङ्गठन बलियो बनाउने उपाय र नेतृत्व विकासबारे छलफल भइरहेको छ ।

कार्यशालामा आज अनिल चित्रकारले नेपालको वर्तमान अवस्था, उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको नीति र सामाजिक लोकतन्त्रबारे प्रस्तुति दिने कार्यक्रम छ ।

त्यस्तै, महामन्त्री विपिनकुमार आचार्यले पार्टीका मूल्य–मान्यता र स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटबारे जानकारी दिनेछन् । पूर्वसचिव सुरेन्द्र अर्यालले बजेट निर्माण प्रक्रिया र उपसभापति सोविता गौतमले पार्टी र सरकारबीचको सम्बन्ध तथा देखिएका समस्याबारे प्रस्तुति दिनेछन् ।

कार्यशालाको दोस्रो दिन पार्टीको सङ्गठनात्मक संरचना, केन्द्रीय सदस्यको भूमिका तथा मिडिया र सामाजिक सञ्जालको प्रभावकारी प्रयोगबारे छलफल हुने रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?