प्रधानमन्त्री बालेनसँग अस्तामबासीले भने- ‘डाँडामा पानी–बाटो र देशमा न्याय चाहियो’

लोकपथ
0
Shares

पोखरा । पोखराको कोलाहलबाट केही पर, हिमशृङ्खलाले घेरिएको माछापुच्छ्रे गाउँपालिका–६, अस्ताम गाउँ शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अप्रत्याशित भ्रमणसँगै राष्ट्रिय चासोको केन्द्र बन्यो ।

प्रधानमन्त्री शाह अस्तामस्थित ‘अन्नपूर्ण इको भिलेज’मा बस्ने जानकारी पाएपछि स्थानीयवासीमा उत्साह र कौतुहलता देखिएको थियो । बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिपछि मात्रै प्रधानमन्त्री गाउँ आउन लागेको जानकारी पाएका स्थानीयहरू घरआँगन तथा सडकछेउमा भेला भएर प्रधानमन्त्रीलाई प्रत्यक्ष देख्न र आफ्ना समस्या सुनाउन प्रतीक्षारत थिए ।

स्थानीय ज्ञानु अधिकारीले नयाँ नेतृत्वबाट विकास र सुशासनको अपेक्षा रहेको बताइन् । उनले विगतमा विभिन्न राजनीतिक दललाई मतदान गरे पनि गाउँका आधारभूत समस्या समाधान हुन नसकेको भन्दै अब नयाँ नेतृत्वले जनताको पक्षमा काम गर्नुपर्ने बताइन् ।

उनले महिला तथा बालिकामाथि हुने हिंसा, बलात्कार र हत्याजस्ता जघन्य अपराधमा कडा कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग पनि गरिन् ।

अस्तामवासीको मुख्य समस्या भने खानेपानी र सिँचाइको अभाव हो । उच्च भूभागमा रहेको गाउँमा पानीको पर्याप्त व्यवस्था नहुँदा कृषि उत्पादन विस्तार गर्न नसकिएको स्थानीयको गुनासो छ ।

स्थानीय तथा होटल व्यवसायी नन्दलाल अधिकारीका अनुसार अधिकांश स्थानीय कृषि पेसामा निर्भर भए पनि सिँचाइको अभावमा तरकारी खेती विस्तार हुन सकेको छैन । उनका अनुसार सरकारले व्यवस्थित खानेपानी तथा सिँचाइ योजना ल्याउन सके स्थानीयले उत्पादन गरेको तरकारी पोखरासहित आसपासका बजारमा बिक्री गरेर आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्छन् ।

‘पोखराको नजिकै भएर पनि पानीको अभावका कारण कृषि उत्पादन बढाउन सकेका छैनौँ । पानीको व्यवस्थापन भए यहाँका किसान आर्थिक रूपमा समृद्ध बन्न सक्छन्,’ अधिकारीले भने ।

स्थानीयले अस्ताम पुग्ने सडकलाई पनि प्रमुख समस्याका रूपमा औँल्याएका छन् । पोखराबाट छोटो दूरीमा रहे पनि गाउँ पुग्ने मुख्य सडक कच्ची र अप्ठ्यारो भएकाले वर्षायाममा आवागमन झनै कठिन हुने उनीहरूको भनाइ छ ।

स्थानीय रामप्रसाद अधिकारी र शोभाखर अधिकारीले सडक र खानेपानीको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । बिरामी पर्दा समेत अस्पतालसम्म पुर्‍याउन कठिन हुने भन्दै उनीहरूले सडक कालोपत्रे र घरघरमा खानेपानीको व्यवस्था गर्न माग गरेका छन् ।

‘अहिलेसम्म कुनै प्रधानमन्त्री हाम्रो गाउँमा आउनुभएको थिएन । बालेनज्यू आउनुभएकोमा हामी खुसी छौँ । उहाँले बाटो र पानीको समस्या बुझेर काम गरिदिनुभयो भने गाउँलेका लागि ठूलो राहत हुनेछ,’ शोभाखर अधिकारीले भने ।

अस्ताम पूर्वाधारको समस्याले मात्र चिनिएको गाउँ भने होइन । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो क्षेत्र पर्यटकीय सम्भावनाले समेत सम्पन्न छ । यहाँबाट माछापुच्छ्रे हिमालसँगै अन्नपूर्ण, मनास्लु र धौलागिरी हिमशृङ्खलालाई ३६० डिग्रीमा अवलोकन गर्न सकिन्छ ।

स्थानीयका अनुसार पोखरामा गर्मी बढ्दा पनि अस्ताममा वर्षभरि शीतल हावापानी रहने भएकाले योग, ध्यान तथा प्रकृतिको आनन्द लिन चाहने आन्तरिक तथा विदेशी पर्यटकका लागि यो आकर्षक गन्तव्य बन्न सक्छ ।

प्राकृतिक ओडार तथा गुफाको संरक्षणसँगै पर्वतीय खेलकुदका पूर्वाधार निर्माण गर्न सके अस्तामलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको विश्वास छ ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा स्थानीयले विकास निर्माणका मागसँगै शान्ति सुरक्षा र न्याय प्रणालीप्रति पनि चासो व्यक्त गरेका छन् । विशेषगरी महिला तथा बालिकामाथि हुने हिंसा र जघन्य अपराधमा कडा कानुनी कारबाही हुनुपर्ने उनीहरूको माग छ ।

प्राकृतिक रूपमा सम्पन्न तर पूर्वाधारमा पछाडि परेको अस्तामवासीले प्रधानमन्त्री साहको भ्रमणबाट नयाँ आशा पलाएको बताएका छन् । उनीहरूले आफ्ना प्रमुख मागका रूपमा ‘पानी, बाटो र न्याय’ लाई अघि सारेका छन् ।

अब अस्तामवासीका यी माग सरकारको नीति तथा कार्यक्रममा कसरी समेटिन्छन् र प्रधानमन्त्री साहको भ्रमणपछि व्यवहारमा कस्तो परिवर्तन आउँछ भन्ने विषय आगामी दिनमा स्पष्ट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?