काठमाडौं । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा फोहोर पानीको विसर्जन तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले वागमती नदी संरक्षण तथा पुनर्जीवनका लागि एकीकृत योजना बनाउन सरकारलाई निर्देशन दिएको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै समिति सभापति आशिष गजुरेलले वागमती नदीको अधिकार क्षेत्र स्पष्ट निर्धारण गरी अतिक्रमण नियन्त्रण, नदी क्षेत्र संरक्षण र बाढी जोखिम व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउन पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिइएको बताए ।
समितिले वागमतीको सौन्दर्यीकरणलाई संरचना निर्माणमा मात्र सीमित नराखी हरित, खुला, पैदलमैत्री तथा नागरिकमैत्री नदी करिडोरका रूपमा विकास गर्न पनि निर्देशन दिएको छ ।
त्यस्तै, बागमतीको वातावरणीय पुनर्जीवनलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटन सम्पदासँग जोडेर ‘हेरिटेज रिभर करिडोर’का रूपमा विकास गर्न समितिले सरकारलाई भनेको छ ।
सभापति गजुरेलले स्वच्छ वागमतीलाई पहिलो प्राथमिकतामा राख्दै नदीमा हुने सम्पूर्ण ढल तथा फोहोर पानीको विसर्जन तत्काल नियन्त्रण गर्ने योजना बनाउनुपर्ने बताए ।
वागमती सभ्यता आयोजनाको दीर्घकालीन सफलता सुनिश्चित गर्न एकीकृत संस्थागत संयन्त्र निर्माण, स्पष्ट जिम्मेवारी निर्धारण, नियमित अनुगमन तथा सार्वजनिक जवाफदेहिताको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।
समितिले स्वच्छ वागमती बनाउने कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गर्नसमेत पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया