१५औं महाधिवेशन प्रक्रिया रोक्न कांग्रेस इतर पक्ष सर्वाेच्च अदालत जाने

लोकपथ
224
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले १५औं महाधिवेशन प्रक्रिया अघि बढाएपछि इतर पक्ष त्यसविरुद्ध सर्वाेच्च अदालत जाने भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ मात्र १५औं महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो । जसअनुसार भदौ २४ गतेदेखि महाधिवेशनका लागि अधिवेशनहरु हुनेछन् ।

संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढाएपछि ‘पार्टीको आधिकारिकतासम्बन्धी विवाद विचाराधीन रहेको’ भन्दै इतर पक्ष अदालत जाने भएको हो ।

इतर समूहको प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले महाधिवेशन प्रक्रिया तत्कालका लागि रोक्न माग गर्दै आफूहरू सर्वोच्च जाने तयारीमा रहेको बताए । उनले भने, ‘अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै एक पक्षले त्यो विषयलाई एकतर्फी रूपमा अगाडि बढाउन स्वाभाविक रूपमा मिल्दैन । तर, प्रक्रिया अगाडि बढाइएको छ । हाम्रो पक्षबाट अदालतमा त्यस विषयमा निवेदन पर्छ ।’

संस्थापन इतर समूहले गठन गरेको नेता रमेश लेखक संयोजकत्वको कानुन तथा विधान समिति अदालत जाने बताइएको छ । यद्यपि, अदालत जाने मिति भने तय भइसकेको छैन ।

यसअघि इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले २६ साउनमा महाधिवेशनसम्बन्धी गतिविधि अघि नबढाउन निर्वाचन आयोग र पार्टीलाई पत्र पठाएका थिए । ‘पत्रमा पार्टीको आगामी १५ औं महाधिवेशन वा विशेष महाधिवेशनसम्बन्धी कुनै पनि सांगठनिक, प्राविधिक वा नीतिगत कार्यतालिकाहरू तत्काल स्थगित गरियोस्,’ पत्रमा भनिएको थियो, ‘अदालतको अन्तिम फैसला नआएसम्म पार्टीको तर्फबाट गरिने कुनै पनि दीर्घकालीन प्रभाव पार्ने नीतिगत, राजनीतिक, सांगठनिक वा आर्थिक निर्णयहरू पूर्णरुपमा यथास्थितिमा राखियोस् ।’

पत्रमा सर्वोच्चको पूर्ण इजलासबाट मुद्दाको अन्तिम फैसला नभएसम्म सम्पूर्ण सांगठनिक संरचनाहरूलाई साविककै अवस्थामा राख्दै अदालतको गरिमा र कानूनी प्रक्रियालाई पूर्ण रुपमा सहयोग र सम्मान गर्न पनि पत्रमार्फत आग्रह गरिएको थियो ।

सर्वोच्चले २१ साउनमा कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको पुनरावलोकनका लागि अनुमति प्रदान गरेको थियो । सो अनुमतिपछि कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद फेरि सुरुदेखि नै सुनुवाइ हुने भएको छ ।

संस्थापन पक्षको हिजोको निर्णयअनुसार गाउँ–नगरको वडा अधिवेशन भदौ २४ गते हुँदा गाउँ–नगर अधिवेशन भदौ २७ र प्रदेशसभा क्षेत्रीय अधिवेशन भदौ ३१ गते हुने भएको छ ।

यस्तै असोज १ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र रहेका जिल्लाको जिल्ला अधिवेशन हुनेछ ।

असोज ७ गते जिल्ला अधिवेशन, असोज १९ गते प्रदेश अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?