काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा तेस्रोपटक विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसपटक सरकारले सातवर्षे विकास ऋणपत्र–२०९० जारी गर्न लागेको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋणपत्रका लागि भदौ ३ गते बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ । ऋणपत्र भदौ ४ गते निष्कासन गरिनेछ ।
यसअघि सरकारले साउन २० गते १५ वर्षे विकास ऋणपत्रबाट १० अर्ब र साउन २७ गते चारवर्षे विकास ऋणपत्रबाट १० अर्ब रुपैयाँ उठाइसकेको छ । नयाँ ऋणपत्र जारी भएपछि चालु आर्थिक वर्षमा विकास ऋणपत्रबाट उठाइएको आन्तरिक ऋण ३० अर्ब रुपैयाँ पुग्नेछ ।
सरकारले चालु आर्थिक वर्षमा कुल ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । त्यसमध्ये ३ खर्ब रुपैयाँ विकास ऋणपत्रबाट उठाउने योजना छ । बाँकी रकम ट्रेजरी बिल, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रबाट उठाइनेछ ।
सातवर्षे विकास ऋणपत्रको ब्याजदर सरकारले पहिले नै तोकेको छैन । बोलकबोलबाट ब्याजदर तय हुनेछ । कुल १० अर्ब रुपैयाँमध्ये ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धी र १ अर्ब ५० करोड रुपैयाँ अप्रतिस्पर्धी बोलदाताका लागि छुट्याइएको छ ।
ऋणपत्र किन्न न्यूनतम ५ लाख रुपैयाँ लगानी गर्नुपर्नेछ । त्यसपछि ५ लाख रुपैयाँले भाग जाने रकममा मात्र लगानी गर्न पाइनेछ । ऋणपत्रको साँवा २०९० भदौ ४ गते फिर्ता हुनेछ भने ब्याज हरेक ६ महिनामा भुक्तानी गरिनेछ ।
यो ऋणपत्रलाई धितो राखेर कर्जा लिन तथा दिन सकिनेछ । साथै, नेपाल स्टक एक्सचेन्ज र डीओएमएस प्रणालीमार्फत दोस्रो बजारमा समेत कारोबार गर्न सकिनेछ ।
यसैबीच, सरकारले लगातार आन्तरिक ऋण उठाइरहँदा नेपालको कुल सार्वजनिक ऋण ३० खर्ब रुपैयाँनजिक पुगेको छ । आर्थिक वर्ष २०८२र८३ को अन्त्यसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो । एक वर्षमा सार्वजनिक ऋण करिब ३ खर्ब रुपैयाँ बढेको हो ।
कुल सार्वजनिक ऋणमध्ये १५ खर्ब ९९ अर्ब ४९ करोड रुपैयाँ वैदेशिक र १३ खर्ब ७५ अर्ब ४२ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ । नेपालको कुल ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०७ प्रतिशत पुगेको छ ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेका बेला सरकारले लगातार विकास ऋणपत्र जारी गरेकाले बैंक तथा संस्थागत लगानीकर्ताका लागि सरकारी ऋणपत्र लगानीको महत्वपूर्ण माध्यम बन्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया