काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन यसअघि घोषणा गरेको असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णयलाई यथावत राखेको छ ।
मंगलबार पार्टी कार्यलय सानेपामा कांग्रेसको हालै बसेको केन्द्रीय समितिको बैठक सार्वजानिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले यसअघि निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिए ।
बैठकले महाधिवेशन तयारी, सदस्यता व्यवस्थापन र तल्लो तहका अधिवेशनको निर्वाचन कार्यतालिकालाई तिब्रता दिने निर्णय गरेको उनले बताए । उनकाअनुसार नेपालको संविधान, प्रचलित कानुन, पार्टी विधान तथा विशेष महाधिवेशनको निर्णयअनुसार १५ औँ महाधिवेशन मंसिर मसान्त अगाडी नै गर्नुपर्ने बाध्यता रहेको छ ।
उनले तल्तो तहका अधिवेशनमा भने सामान्य हेरफेर हुने बताए । भदौमा हुनसक्ने अत्यधिक वर्षाका कारण वडा तथा पालिका तहका निर्वाचनमा पर्नसक्ने प्रभावलाई ध्यानमा राख्दै केन्द्रीय निर्वाचन समितिले सम्बन्धित जिल्ला निर्वाचन समितिसँग समन्वय गरी तल्लो तहका निर्वाचन कार्यतालिकामा आवश्यक सामान्य हेरफेर गर्न सक्ने निर्णय गरेको उहाँले जानकारी दिए । तर, त्यसले केन्द्रीय महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यमा असर नपार्ने उनको भनाई छ ।
उनले भने, ‘नेपाली कांग्रेसको विधान नेपालको संविधान तथा प्रचलित कानुनले निर्धारण गरेको समय सीमा र विशेष महाधिवेशनको निर्णयलाई ध्यानमा राखी पार्टीको १५ औं महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने पार्टीको वैधानिक तथा राजनीतिक दायित्व हो । केन्द्रीय कार्यसमितिको पूर्व निर्णय अनुसार १५ औं महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने निर्णय यथावत कायम राखिएको छ ।
महाधिवेशनलाई प्राविधिक निर्वाचन प्रक्रियामा सीमित नराखी पार्टीको लोकतान्त्रिक दबीकरण एकता, सहमति, संवाद र व्यापक सहभागिताको महान् उत्सवको रूपमा सम्पन्न गर्ने वातावरण निर्माण गरिँदैछ । भदौ महिनामा हुन सक्ने अत्यधिक वर्षाका कारण वडा पालिकामा पर्न सक्ने प्रतिकूल प्रभावलाई ध्यानमा राखी निर्धारित समयमै केन्द्रीय महाधिवेशन सम्पन्न हुने सुनिश्चितता कायम गर्दै केन्द्रीय निर्वाचन समितिले सम्बन्धित जिल्ला निर्वाचन समितिसँग समन्वय गरी तल्लो तहका निर्वाचन कार्यतालिकामा आवश्यक सामान्य हेरफेर गर्न सक्नेछ ।’
कांग्रेसले १५औँ महाधिवेशनको तयारीअन्तर्गत क्रियाशील सदस्यताको डिजिटल अभिलेख व्यवस्थित गर्ने निर्णय गरेको छ । सदस्यता वितरण, नवीकरण, अध्यावधिक तथा अभिलेख व्यवस्थापनलाई डिजिटल प्रणालीमार्फत व्यवस्थित गरिने प्रवक्ता चालिसेले जानकारी दिए । छुटेका सदस्यलाई निश्चित समय तोकेर पुनः अध्यावधिकको अवसर दिने निर्णयसमेत गरिएको छ ।
सदस्यता व्यवस्थापन समितिले गरेका निर्णयहरू केन्द्रीय कार्यसमितिले अनुमोदन गर्दै डिजिटल प्रणालीमा देखिने प्राविधिक तथा व्यवस्थापकीय समस्या समाधान गर्न समितिलाई आवश्यक अख्तियारी दिएको उनले जानकारी दिए ।
गगनको संयोजकत्वमा मूल व्यवस्थापन समिति
महाधिवेशन व्यवस्थापनका लागि पार्टी सभापति गगनकुमार थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ ।
समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार र स्वास्थ्यलगायतका विषय हेर्न आवश्यक उपसमिति गठन गर्ने प्रवक्ता चालिसेले जानकारी दिए ।
उपसमितिका संयोजक तथा सदस्यहरूको नाम क्रमिक रूपमा सार्वजनिक गरिने उनले बताए ।
उनले भने, ‘पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्न विभिन्न समितिहरू गठन गरिएका छन् । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन व्यवस्थापन समितिमा पार्टी सभापति श्री गगन कुमार थापाको संयोजकत्वमा हामीले मूल व्यवस्थापन समिति गठन गरेका छौँ । उहाँकै संयोजकत्वमा छन् र यसमा आवश्यक सदस्यहरू रहने छन् जसको नाम हामी पछि प्रकाशित गर्नेछौँ । महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्य लगायत विभिन्न उपसमितिहरू निर्माण गर्नेछ आवश्यकता अनुसार । यसमा रहने संयोजक एवं अन्य सदस्यहरूको नामावली हामी क्रमिक रूपमा प्रकाशित गर्दै जानेछौँ ।’
महाधिवेशनमा पार्टी सभापति थापाले ‘आगामी दशकः लोकतन्त्र र कांग्रेस’ विषयलाई केन्द्रमा राखेर मुख्य राजनीतिक प्रस्ताव पेस गर्ने कांग्रेस प्रवक्ता चालिसेले जानकारी दिए ।
उपसभापति विश्वप्रकाश शर्माले ‘राजनीतिक संस्कृतिमा आएको क्षय र योगदानको रूपान्तरण सम्बन्धी’ प्रश्ताव पेस गर्नुहुनेछ भने अर्की उपसभापति पुष्पा भुसालले ‘निर्वाचनसम्बन्धी विशेष प्रस्ताव’ तथा महामन्त्री ‘गुरुराज घिमिरेले संगठनसम्बन्धी प्रश्ताव’ पेश गर्ने कांग्रेसले जनाएको छ । महाधिवेशन प्रचारप्रसार समितिको जिम्मेवारी प्रवक्ता देवराज चालिसेलाई दिइएको छ।
विधान संशोधन समिति गठन
कांग्रेसले विधानलाई समयसापेक्ष र प्रभावकारी बनाउन महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गरेको छ । समितिले पार्टीका विभिन्न तह र निकायसँग संवाद तथा सुझाव लिएर विधान संशोधनको मस्यौदा तयार गरी केन्द्रीय समितिमा पेस गर्ने प्रवक्ता चालिसेले जानकारी दिए । महाधिवेशन प्रक्रिया सरल, पारदर्शी, सहभागितामूलक र विवादरहित बनाउन नियमावली तथा निर्वाचन निर्देशिकामा आवश्यक परिमार्जन गरी लागू गर्ने निर्णय पनि गरिएको छ ।
उनले भने, ‘नेपाली कांग्रेसको विधानलाई समय सापेक्ष अनुकूल समय सापेक्ष आवश्यकता अनुसार अनुकूल बनाउँदै थप प्रभावकारी बनाउन संगठनलाई महामन्त्री संशोधनको लागि महामन्त्री श्री प्रदीप पौडेलजीको संयोजकत्वमा विधान संशोधन समिति पनि गठन गरिएको छ । र यो समितिले पार्टीका विभिन्न निकायमा रहनुभएका साथीहरूसँग आवश्यक संवाद र सल्लाह र सुझाव लिएर आफ्नो मस्यौदालाई अन्तिम रूप दिनेछ र केन्द्रीय समितिमा त्यो समितिले प्रस्ताव पेश गर्नेछ ।’
बैठकले महाधिवेशन निर्धारित समयभित्र सम्पन्न गर्न आवश्यक देखिएकाले विधानको धारा ३५ (२) (घ) अन्तर्गतको केही व्यवस्था निलम्बन गर्ने निर्णय पनि गरेको उहाँले जानकारी दिए । उक्त व्यवस्थामा रहेको ‘छ महिना अगाडि’ भन्ने प्रावधान वर्तमान परिस्थितिमा सान्दर्भिक नभएको प्रवक्ता चालिसेले जानकारी दिए । अघिल्लो केन्द्रीय समितिको बैठकयता केन्द्रीय कार्यसम्पादन समितिले गरेका विभिन्न निर्णयलाई पनि केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको छ ।
कांग्रेसले नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, तरुण दल, नेपाल दलित संघलगायत भ्रातृ संस्थाका विधान आवश्यक संशोधन र परिमार्जनसहित पारित गरेको छ । लामो समयदेखि अधिवेशन हुन नसकेका भ्रातृ संस्थालाई नियमित अधिवेशन, संस्थागत अनुशासन, नेतृत्व विकास र संगठन विस्तारको प्रभावकारी माध्यमका रूपमा विकास गर्ने कांग्रेसको नीति रहेको प्रवक्ता चालिसेले बताए ।
कांग्रेसले संविधानको रक्षा तथा आवश्यक सुधार, लोकतान्त्रिक मूल्यको संरक्षण, सुशासन, प्रेस तथा नागरिक स्वतन्त्रताको सुरक्षा, सामाजिक सद्भाव, विपद् व्यवस्थापन, उत्पादन तथा लगानी विस्तार र नागरिकका आधारभूत समस्या समाधानलाई प्राथमिकतामा राख्ने निर्णय गरेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया