हामी गोली खान तयार छौँ तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौँ : सांसद खातुन

लोकपथ
70
Shares

काठमाडौं । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलापमा प्रतिपक्षले कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेकी छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खातुनले सरकारको कार्यशैली र सत्तापक्षका सांसदहरूको व्यवहारप्रति आपत्ति जनाइन् ।

उनले सत्तापक्षबाट धम्कीपूर्ण भाषा प्रयोग भइरहेको आरोप लगाउँदै त्यसको प्रतिवाद गरिन् । मुलुकमा व्याप्त भनिएको गुण्डाराजका विषयमा टिप्पणी गर्दै उनले सरकारकै संरक्षणमा त्यस्ता गतिविधि भइरहेको दाबीसमेत गरिन् ।

प्रतिपक्षले आवाज उठाउँदा उसलाई गुण्डाको संज्ञा दिनु उचित नभएको उनको भनाइ थियो । प्रतिपक्ष दल सधैँ देश र जनताको हितमा उभिने प्रतिबद्धता व्यक्त गर्दै उनले सरकारका गलत कार्यलाई टुलुटुलु हेरेर समर्थन गर्न नसकिने बताइन् ।

उनले भनिन्, ‘एकातर्फबाट धम्काउने र अर्कोतर्फबाट आफैँ मलम लगाउन तयार भएको अभिनय गर्ने कार्य स्वीकार्य छैन । हामी जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न र बलिदान दिन तयार छौँ, तर सरकारका गलत कार्यहरूलाई टुलुटुलु हेरेर समर्थन गर्न सक्दैनौँ ।’

सांसद खातुनले सिराहामा प्रहरीले चलाएको गोलीको विषयसमेत उठाउँदै घटनाबारे सरकार जवाफदेही हुनुपर्ने माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?