काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको कूटनीतिक वार्तामा अवरोध भए ओमानमाथि समेत कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् ।
फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले ओमानले अमेरिका–इरान वार्तामा कुनै किसिमको अवरोध सिर्जना गरेमा ओमानमाथि बमबारी गर्न सक्ने बताएका हुन् ।
ट्रम्पको यस्तो चेतावनी आउनुअघि इरानले ओमानसँग स्ट्रेट अफ होर्मुजबाट पानीजहाज आवतजावत गराउने विषयमा सहमति नजिक पुगेको जनाएको थियो । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले जहाज पार गर्ने मार्गको नक्साबारे दुई देशबीच समझदारी भएको बताएका छन् ।
ओमानले भने अमेरिका र इरानबीचको विवादमा आफूलाई तटस्थ राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ । तर, इरानसँगको द्वन्द्वको असर ओमानले पनि भोग्दै आएको छ ।
अमेरिका र इरानबीच गत जुन १८ मा युद्धविराम र स्ट्रेट अफ होर्मुज आंशिक रूपमा खुलाउने उद्देश्यले ६० दिने समझदारी भएको थियो । तर, समझदारी कार्यान्वयनमा आउनुअघि नै दुवै पक्षबीच फेरि तनाव र आक्रमण सुरु भएको थियो ।
ट्रम्पले उक्त समझदारीको म्याद थप्ने विषयमा आफू सकारात्मक नरहेको स्पष्ट पारेका छन् । उनले इरानले आणविक हतियार बनाउन नपाउनु आफ्नो प्रशासनको मुख्य लक्ष्य भएको बताएका छन् ।
स्ट्रेट अफ होर्मुज विश्वकै महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक हो । विश्वमा खपत हुने तेल र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को ठूलो हिस्सा यही जलमार्ग हुँदै ओसारपसार हुन्छ ।
यो जलमार्ग लामो समय बन्द वा अवरुद्ध भए विश्व बजारमा तेलको मूल्य बढ्ने, ऊर्जा आपूर्ति प्रभावित हुने र अन्तर्राष्ट्रिय व्यापारमा समेत असर पर्ने जोखिम हुन्छ। यही कारण अमेरिका, इरान र ओमानबीच होर्मुज जलडमरूमध्य खुलाउने विषयलाई लिएर कूटनीतिक प्रयास भइरहेको छ ।
यसैबीच, ट्रम्पले इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) सँग अमेरिकाको गोप्य माध्यमबाट कुराकानी भइरहेको दाबी गरेका छन् । तर, आईआरजीसीले भने ट्रम्पको दाबी अस्वीकार गर्दै अमेरिकी अधिकारीसँग कुनै वार्ता नभएको जनाएको छ ।
ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न आफूलाई हतार नभएको पनि बताएका छन्। ओमानमार्फत भइरहेको कूटनीतिक प्रयासका बीच ट्रम्पको पछिल्लो चेतावनीले अमेरिका, इरान र ओमानबीचको तनाव थप बढ्न सक्ने चिन्ता बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया