भदौ ९ गतेदेखि ‘नाडा अटो शो’ हुँदै : २०० भन्दा बढी स्टल, २ लाखले अवलोकन गर्ने अनुमान

लोकपथ
0
Shares

काठमाडौं । अटोमोबाइल क्षेत्रको कुम्भ मेलाका रुपमा हेरिने नाडा अटो शोको १८औँ संस्करण आगामी भदौ ९ गतेबाट सुरु हुने भएको छ ।

नाडाले आज पत्रकार सम्मेलन गरी भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो २०२६ गर्न लागेको र त्यसको तयारीबारे जानकारी दिएको हो ।

यस प्रदर्शनीमा साना ठूला गरी २०० भन्दा बढी स्टलहरू रहने छन् जसमा २३ वटा ब्राण्डका पेसेन्जर कार भेहिकल, १७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, १३ वटा ब्राण्डका दुई पांग्रे, १० वटा वित्तीय एवं बीमा सेवा प्रदायकहरू तथा ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण, र अटोमोबाइल सम्बन्धी अन्य उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन् । यसैगरी यी स्टलहरूमा नेपालमा एसेम्बल हुने सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य सामग्रीहरू समेत रहने नाडाले जनाएको छ ।

६ दिन सम्म चल्ने उक्त नाडा अटो शो २०२६ मा २,००,००० (दुई लाख) आगन्तुकहरुले अवलोकन गर्ने गरी तयारी गरिएको बताइएको छ ।

नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित ६ दिन सम्म चल्ने प्रदर्शनीले तीव्र रूपमा विकसित भईरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यवसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्ने विश्वास रहेको नाडाले जनाएको छ ।

नाडाको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा यस नाडा अटो शो को १८औँ संस्करणलाई स्वर्ण उत्सव संस्करणको रूपमा भव्यताका साथ आयोजना गर्न लागिएको हो । यस प्रदर्शनीले विगतमाझैँ अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नवीनतम सवारी साधन, प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गर्न र ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न महत्वपूर्ण अवसर प्रदान गर्नेछ विश्वास रहेको आयोजक नाडाले जनाएको छ ।

यस पटकको प्रमूख आकर्षणहरूमा स्वर्ण उत्सव संस्करण – नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस वर्षको नाडा अटो शो स्वर्ण उत्सव संस्करण, G1 Humanoid Robot and Go2 Quadruped Robot – भविष्यमा यातायात साधनमा आउने प्रविधी विकासको अनुभव, Made in Nepal / Made for Nepal Pavilion – स्वदेशमै उत्पादित् सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य कम्पोनेन्टस्रूको प्रबद्र्धन,विभिन्न ब्राण्डका नयाँ नयाँ मोडलहरूको लन्च र स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास, कनेक्टिभिटीमा केन्द्रित सिम्पोसियम्स रहने नाडाले जनाएको छ।

२–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरुको छुट्टा–छुट्टै प्रदर्शन हुने नाडाले उल्लेख गरेको छ । नाडाका अनुसार  खल्ती एप मार्फत अग्रिम टिकट खरिदको व्यवस्था गरिएको छ भने निश्चित अवधिका लागि ५० प्रतिशत क्यास व्याक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?