नेतृत्व परिवर्तनको बहसबीच ओलीको प्रश्न– ‘एकले अर्काको खुट्टा तानेर विरोधीसँग लड्न सकिन्छ ?’

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले कायर पार्टी नभएको भन्दै उच्च मनोबलका साथ एकताबद्ध हुन पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरेका छन् ।

झापामा आयोजित ‘मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको अस्तित्व नै नेता–कार्यकर्तामा निर्भर रहेको बताएका हुन् ।

उनले संकटका बेला पार्टीभित्रै एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिले विरोधी शक्तिलाई फाइदा पुग्ने भन्दै आन्तरिक एकतामा जोड दिए ।

पार्टी नेतृत्व परिवर्तनको माग उठिरहेको सन्दर्भमा ओलीले त्यसलाई ‘व्यर्थको प्रयास’ को संज्ञा दिए । उनले कार्यकर्ता पंक्ति वर्तमान नेतृत्वको साथमा रहेको दाबी गर्दै अध्यक्ष हटाउने कुरा कार्यकर्ताको समर्थनबिना सम्भव नहुने बताए ।

‘नेकपा एमाले कायर पार्टी होइन । पार्टी भनेको तपाईं–हामी नै हौँ,’ ओलीले भने, ‘यस्तो बेलामा पार्टी फुटेर, कोही यता फर्केर, कोही उता फर्केर, एकले अर्काको खुट्टा तान्न थालेर हामी विरोधीसँग लड्न सक्छौँ र रु हामी एकताबद्ध हुनुपर्छ।’

ओलीले अहिले पार्टीले मुख्य रूपमा दुईवटा लक्ष्यमा केन्द्रित हुनुपर्ने बताए । उनका अनुसार देशमा देखिएको प्रतिगमनलाई सच्याउँदै लोकतन्त्र र शान्ति–सुव्यवस्था पुनःस्थापित गर्नु तथा विकासको अभियानलाई अघि बढाउनु एमालेको प्राथमिकता हो ।

उनले राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमानको रक्षा गर्दै देशलाई अघि बढाउनुपर्नेमा जोड दिए । साथै, प्रतिक्रियावादी शक्तिविरुद्ध दृढताका साथ लड्न पार्टी पंक्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिए ।

ओलीले पार्टीभित्र अनावश्यक विवाद र नेतृत्व परिवर्तनको बहसमा अल्झिनुभन्दा एकताबद्ध भएर राजनीतिक चुनौतीको सामना गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?