भदौका लागि नयाँ ब्याजदर सार्वजनिक, ५ बैंकले घटाए, कसको कति ? [सूचीसहित]

लोकपथ
112
Shares

काठमाडौं । वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर घट्ने क्रमले भदौ महिनामा पनि निरन्तरता पाएको छ ।

बैंकहरूले भदौका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत तथा संस्थागत दुवै मुद्दती निक्षेपको औसत ब्याजदर साउनको तुलनामा घटेको देखिएको छ ।

भदौ महिनाका लागि २० वाणिज्य बैंकमध्ये पाँच बैंकले व्यक्तिगत वा संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बाँकी १५ वटा वाणिज्य बैंकले भने साउनमा कायम गरेको ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।

भदौका लागि भने कुनै पनि वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर भने बढाएका छैनन् ।

बैंकहरुले उपलब्ध गराएको तथ्यांक विश्लेषण गर्दा ब्याजदर घटाउनेमा सबैभन्दा अघि सिद्धार्थ बैंक र नेपाल बैंक लिमिटेड रहेका छन् । भदौका लागि सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.२९ प्रतिशत बिन्दुले घटाएर अधिकतम ३.७६ प्रतिशत बनाएको छ । यसैगरी संस्थागततर्फ पनि बैंकले ०.२० प्रतिशत बिन्दुले कटौती गरेको छ ।

यता नेपाल बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत बिन्दु र संस्थागततर्फ ०.५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगत मुद्दतीको ब्याजदर ०.१ प्रतिशत बिन्दुले घटाएको छ ।

कुमारी बैंकले व्यक्तिगततर्फ ०.०९ प्रतिशत बिन्दु तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन् । यी दुवै बैंकसहित सिटिजन्सले संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा भने परिवर्तन गरेका छैनन् ।

अधिकांश बैंकले भने भदौमा पनि साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । जसमा बाँकी रहेका १५ वटा बैंकहरु नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, माछापुच्छ्रे, कृषि विकास, नेपाल एसबिआई, एभरेष्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आइएमई बैंक रहेका छन् । जसले व्यक्तिगत तथा संस्थागत दुवै मुद्दती निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् ।

नबिल र प्रभुको व्यक्तिगत मुद्दतीमा उच्चतम ब्याज

भदौमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर नबिल बैंक र प्रभु बैंकले दिने भएका छन् । दुवै बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.५५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

यसको विपरीत कुमारी बैंक र सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम अधिकतम ३.७६ प्रतिशत ब्याजदर दिने भएका छन् ।

संस्थागत मुद्दती निक्षेपतर्फ नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, नेपाल बैंक, एभरेष्ट र हिमालयन बैंकले सर्वाधिक ३.५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

संस्थागत निक्षेपमा सबैभन्दा कम ब्याजदर भने प्रभु, कृषि विकास, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले तोकेका छन्। यी बैंकले संस्थागत मुद्दती निक्षेपमा अधिकतम २.७५ प्रतिशत ब्याज दिनेछन् ।

समग्रमा, बैंकिङ प्रणालीमा निक्षेपको ब्याजदर घट्ने प्रवृत्तिले भदौमा पनि निरन्तरता पाउँदा व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ताले पाउने प्रतिफलमा थप कमी आएको छ । बैंकहरूले नयाँ महिनाका लागि ब्याजदर पुनरावलोकन गर्दा अधिकांशले अघिल्लो महिनाकै दर कायम राखेका छन् भने केही बैंकले भने थप कटौती गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?