देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन गर्ने कांग्रेस संस्थापन इतर पक्षको निर्णय

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षीय नेताहरूको राष्ट्रिय भेलाले पार्टीको आगामी १५ औँ महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

साउन २९–३१ गते सम्पन्न भेलाले पार्टीको आन्तरिक सुदृढीकरण र आगामी कार्यदिशाका सम्बन्धमा विभिन्न महत्वपूर्ण प्रस्तावहरु पारित गरेको हो ।

भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमितिको निर्णय र आयोजनामा १५ औँ महाधिवेशन सम्पन्न गर्ने र त्यसको नेतृत्व सभापति देउवाले नै गर्ने निर्णय गरेको छ ।

देउवाको नेतृत्वमा पार्टीलाई एकतावद्ध बनाई महाधिवेशन सफल पार्ने दृढता व्यक्त गर्दै महाधिवेशनसम्मका पार्टीका नियमित गतिविधिहरू सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकहरूले संयोजन गर्ने तय गरिएको छ ।

राजनीतिक प्रस्तावअन्तर्गत, भेलाले वि।सं। २०३३ सालमा वीपी कोईरालाले अवलम्वन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई वर्तमान सन्दर्भमा पनि सान्दर्भिक ठहर गरेको छ ।

मुलुकको विद्यमान जटिल परिस्थितिलाई दृष्टिगत गर्दै राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि अन्य लोकतान्त्रिक शक्तिहरूसँग निरन्तर संवाद र सहकार्य गर्ने नीति कांग्रेसले लिएको नेता दीपक कुइँकेलले बताए । बैठकका निर्णयहरु सुनाउँदै कुइँकलले भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको अभिन्न अङ्गको रूपमा स्वीकार गरेको बताए । हिन्दू, बौद्ध, किराँत र प्राकृत लगायतका धर्मको संरक्षण गर्ने दायित्व वोध गर्दै धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्न पार्टी प्रतिवद्ध रहने प्रश्ताव पारित गरिएको छ । संविधानको सम्बन्धमा जनअपेक्षा सम्बोधन गर्न आवश्यक संशोधनका लागि संवैधानिक व्यवस्थाअनुसार नै सम्बन्धित पक्षहरूसँग संवाद गरी निकास खोजिने जनाइएको छ ।

भेलामा प्राप्त विभिन्न सुझाव र प्रस्तावहरूलाई परिमार्जनसहित अन्तिम रूप दिने जिम्मेवारी नेता नारायणप्रकाश साउनको संयोजकत्वमा गठन गरिएको समितिलाई दिइएको छ ।

उक्त समितिमा उमाकान्त चौधरी र सीता राना सदस्य रहेका छन् भने मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेलले सहयोगीका रूपमा कार्य गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?