कुन बैंकको लाभांश दिने क्षमता कति ? एभरेष्ट सबैभन्दा अघि [सूचीसहित]

लोकपथ
462
Shares

काठमाडौं । साउन मसान्त नजिकिँदै गर्दा शेयर बजारका लगानीकर्ताको ध्यान कम्पनीहरूको लाभांश क्षमतातर्फ केन्द्रित भएको छ । आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएसँगै वाणिज्य बैंकहरूले कति प्रतिफल दिन सक्ने अवस्थामा छन् भन्ने हिसाब सुरु भएको हो ।

नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख ४० हजारभन्दा बढी पुगेको छ भने मेरो शेयरमा सक्रिय प्रयोगकर्ता ५१ लाखभन्दा बढी छन् । ठूलो संख्यामा लगानीकर्ता जोडिएको शेयर बजारमा साउन मसान्त कम्पनीहरूको लाभांश क्षमता मूल्यांकन गर्ने महत्वपूर्ण समयका रूपमा देखिएको छ ।

हालसम्म सार्वजनिक भएका २० वाणिज्य बैंकको वित्तीय विवरण हेर्दा लाभांश क्षमतामा एभरेष्ट बैंक सबैभन्दा अगाडि देखिएको छ ।

बैंकको प्रतिशेयर वितरणयोग्य मुनाफा ३८ रुपैयाँ ३२ पैसा पुगेको छ । त्यसपछि सानिमा बैंकको २० रुपैयाँ ८५ पैसा छ । नबिल बैंक र नेपाल एसबीआई बैंकले १९ प्रतिशत प्रतिफल बाँड्न सक्ने क्षमता बनाएका छन् ।

सरकारी स्वामित्वको नेपाल बैंक पनि १५ प्रतिशतभन्दा माथिको लाभांश क्षमता भएका बैंकको सूचीमा परेको छ । बैंकले १५.८४ प्रतिशत लाभांश क्षमता बनाएको छ ।

त्यसैगरी ग्लोबल आईएमई बैंकको लाभांश क्षमता १२ प्रतिशत र सिद्धार्थ बैंकको ११।५३ प्रतिशत देखिएको छ । तर सिद्धार्थ बैंकको हकमा यसपटक अतिरिक्त रकम वितरणयोग्य बन्ने अवस्था देखिएको छ ।

बैंकको डिबेञ्चर परिपक्व भइसकेपछि डिबेञ्चरका लागि छुट्याइएको रकम अब शेयरधनीलाई बाँड्न मिल्ने अवस्था आएको छ । ‘क्यापिटल रिडेम्सन रिजर्भ’मा रहेको रकमलाई ‘क्यापिटल एड्जस्टमेन्ट रिजर्भ’मा ट्रान्सफर गरेपछि उक्त रकम वितरण गर्न सकिने भएकाले सिद्धार्थ बैंकको लाभांश क्षमता २६.१५ प्रतिशत पुग्ने देखिएको छ । यस हिसाबले एभरेष्टपछि सिद्धार्थ बैंक दोस्रो उच्च लाभांश क्षमता भएको बैंक बन्ने देखिन्छ ।

एभरेष्ट बैंकको उच्च लाभांश क्षमता पछाडि बैंकको रणनीति पनि महत्वपूर्ण देखिन्छ ।

अघिल्लो वर्ष पनि बैंकले झण्डै ३८ प्रतिशत लाभांश क्षमता बनाएको थियो । तर बैंकले २० प्रतिशतमात्रै लाभांश वितरण गरेको थियो। अर्थात् सुरुमै करिब १८ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता बैंकसँग बाँकी थियो ।

अन्य बैंकहरूको तुलनामा एभरेष्टले कमाइको ठूलो हिस्सा तत्काल लाभांशका रूपमा वितरण नगरी क्षमता सञ्चित गर्दै आएको देखिन्छ । यही कारण यस वर्ष पनि बैंक लाभांश क्षमताको शीर्ष स्थानमा देखिएको हो ।

लाभांश क्षमताका आधारमा नेपाल एसबीआई बैंक पनि १० प्रतिशतभन्दा माथि रहेको छ। ५ देखि १० प्रतिशतसम्मको क्षमता भएका बैंकमा एनएमबी बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक र लक्ष्मी सनराइज बैंक छन् ।

सिटिजन्स बैंक र कुमारी बैंकको लाभांश क्षमता भने ५ प्रतिशतभन्दा कम रहेको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष २० वाणिज्य बैंकमध्ये ९ बैंकको लाभांश क्षमता बढेको छ । ७ बैंकको क्षमता घटेको भए पनि उनीहरूको अवस्था धनात्मक नै छ । बाँकी ४ बैंक—नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंक–को वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ ।

ऋणात्मक वितरणयोग्य नाफातर्फ एनआईसी एशिया बैंकको घाटा १४ अर्ब ८६ करोड रुपैयाँ र हिमालयन बैंकको ९ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । प्रभु बैंकको घाटा ६ अर्ब ३१ करोड रुपैयाँ छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको घाटा ५ अर्ब रुपैयाँभन्दा बढी छ ।

कुल वितरणयोग्य नाफाको रकमलाई आधार मान्दा पनि एभरेष्ट बैंक अगाडि छ । बैंकसँग ५ अर्ब २५ करोड रुपैयाँभन्दा बढी वितरणयोग्य नाफा रहेको छ । नबिल बैंक भने करिब ५ अर्ब १७ करोड रुपैयाँ वितरणयोग्य नाफासहित एभरेष्टलाई पछ्याइरहेको छ ।

तर नबिलको चुक्ता पुँजी एभरेष्टको तुलनामा निकै धेरै भएकाले प्रतिशेयर तथा प्रतिशतका आधारमा एभरेष्टको लाभांश क्षमता निकै माथि देखिएको हो ।

वितरणयोग्य नाफाको रकमका आधारमा ग्लोबल आईएमई बैंक साढे ४ अर्ब रुपैयाँभन्दा बढी नाफासहित तेस्रो स्थानमा छ। सानिमा बैंकले २ अर्ब ८३ करोड रुपैयाँ र नेपाल बैंकले २ अर्ब ३२ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएका छन् ।

त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्राइम कमर्शियल बैंक, एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक र राष्ट्रिय वाणिज्य बैंकले १ देखि २ अर्ब रुपैयाँको बीचमा वितरणयोग्य नाफा कमाएका छन् ।

यस वर्षको बैंकिङ क्षेत्रको लाभांश तस्वीर हेर्दा एभरेष्ट बैंक प्रतिशतमा मात्र होइन, वितरणयोग्य नाफाको आकारमा समेत अगाडि देखिएको छ । अर्कोतर्फ सिद्धार्थ बैंकको रिजर्भसम्बन्धी रकम वितरणयोग्य हुने अवस्थाले उसको सम्भावित लाभांश क्षमतालाई उल्लेख्य रूपमा माथि पुर्‍याएको छ । अब बैंकहरूले लाभांशसम्बन्धी निर्णय गर्दा यी वित्तीय सूचकांक र नियामकीय व्यवस्थाले अन्तिम प्रतिफल निर्धारण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?