गगनलाई मोहन बस्नेतको चुनौती– ‘५५ वर्षको उमेरमा राजनीति छाड्ने कि नछाड्ने ?

लोकपथ
21
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीका सभापति गगन थापालाई ५५ वर्षको उमेरमा राजनीतिबाट सन्यास लिने आफ्नो पूर्वघोषणा कार्यान्वयन गर्न चुनौती दिएका छन् ।

नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेला कार्यक्रममा बोल्दै नेता बस्नेतले थापाको उमेर र उनले विगतमा व्यक्त गरेका प्रतिवद्धताका विषयमा टिप्पणी गरेका हुन् ।

नेता बस्नेतले सभापति थापा हाल ५२ वर्ष पुगिसकेको र आगामी आवधिक निर्वाचनसम्म उनले घोषणा गरेको ५५ वर्षको उमेर हद नाघिसक्ने उल्लेख गरे ।

पार्टीको वर्तमान अवस्था र नेतृत्वका सम्बन्धमा टिप्पणी गर्दै नेता बस्नेतले शेरबहादुर देउवाको नेतृत्वको बचाउ गरे ।

देउवाकै कुशलताका कारण काँग्रेसले स्थानीय तह, प्रदेश, संघ र राष्ट्रिय सभामा समेत सफलता र बहुमत प्राप्त गरेको उनको दाबी थियो ।

उनले भने, ‘युवाहरूलाई मौका दिने भन्दै गगन थापाजीले ५५ वर्ष पुगेपछि राजनीति छोड्छु भन्नुभएको थियो । अहिले उहाँ ५२ वर्ष भइसक्नुभयो, आगामी चुनावसम्म उहाँ ५५ वर्ष नाघिसक्नुहुनेछ । यदि आफ्नो बोलीप्रति प्रतिवद्ध हुनुहुन्छ भने उहाँले अब युवाहरूका लागि बाटो प्रशस्त गर्नुपर्छ । सभापति देउवाको बुद्धिमतापूर्ण नेतृत्व र रणनीतिका कारण आज काँग्रेस सबै तहमा शक्तिशाली बनेको छ । पार्टी सिद्धियो वा बर्बाद भयो भन्नु यथार्थविपरीत छ ।’

बस्नेतले पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै अनुभवी नेतृत्वको अपरिहार्यता औंल्याए ।

उनले नयाँ पुस्तालाई लक्षित गर्दै परिपक्व नेतृत्वविना पार्टी र देशले सही निकास पाउन नसक्ने तर्क गरे । कांग्रेसलाई अझ सबल र एकीकृत बनाउन सभापति देउवाकै अभिभावकत्व आवश्यक रहेको उनको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?