काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू कुनै पद वा राजनीतिक शक्ति हासिल गर्ने उद्देश्यले नभई राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र नयाँ पुस्ताको भावनालाई सम्बोधन गर्न सक्रिय हुने बताएका छन् ।
झन्डै पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका देउवाले अपिल जारी गर्दै आफ्नो आगामी सक्रियताको उद्देश्य स्पष्ट पारेका हुन् ।
उनले आफूलाई व्यक्तिगत लाभ वा पदको चाहना नरहेको उल्लेख गर्दै बाँकी जीवन राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सेवामा समर्पित गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ,’ देउवाले अपिलमा भनेका छन् ।
देउवाले वर्तमान सरकार जनअपेक्षाअनुसार अघि बढ्न नसकेको आरोप पनि लगाएका छन् । जनताबाट प्राप्त ताजा जनमतको सम्मान गर्न सरकार चुकेको र राजनीतिक आग्रह–पूर्वाग्रहमा केन्द्रित भएको उनको टिप्पणी छ । जनताको मतको सम्मान नगर्ने शक्तिलाई लोकतन्त्रमा जनताले नै जवाफ दिने उनको भनाइ छ ।
युवा पुस्तामा देखिएको परिवर्तनको चाहना र उनीहरूको असन्तुष्टिलाई कांग्रेसले गम्भीर रूपमा बुझ्नुपर्ने देउवाले बताएका छन् । समयअनुसार पार्टीलाई रूपान्तरण गर्दै नयाँ पुस्ताको सिर्जनशीलता र क्षमतालाई अवसर दिनुपर्नेमा उनले जोड दिएका छन् । साथै, विगतका योगदान र बलिदानलाई बिर्सन नहुने भन्दै पुरानो र नयाँ पुस्ताबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् ।
कांग्रेसका कार्यकर्तामा देखिएको निराशा अन्त्य गर्दै उनीहरूको मनोबल उकास्न आफू सक्रिय हुने देउवाको भनाइ छ । कांग्रेसको ऐतिहासिक जिम्मेवारी अझै पूरा नभएको भन्दै उनले पार्टीलाई थप सुदृढ बनाउन सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन् ।
संविधानको संरक्षण र आवश्यक संशोधन राष्ट्रिय सहमतिका आधारमा मात्रै हुनुपर्नेमा देउवाले स्पष्ट धारणा राखेका छन् । लोकतन्त्र, संविधान र नागरिक अधिकारका विषयमा कांग्रेसले कुनै सम्झौता नगर्ने उनको भनाइ छ ।
आफूले अब कुनै व्यक्तिगत लाभको पद नखोज्ने स्पष्ट पार्दै देउवाले आफूलाई ‘नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको’ बताएका छन् । उनले विनम्रता र प्रेमका साथ राष्ट्रसेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया