काठमाडौं । नेकपा (एमाले) की सांसद नीता घतानीले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सत्तारुढ दलका सांसद हरि ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद घतानीले सिंहदरबारको नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्नुपर्ने अभिव्यक्तिको विरोध गरेकी हुन् । सांसद ढकालले आइतबार एक सार्वजनिक कार्यक्रममा सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए ।
सांसद घतानीले ‘सिंहदरबार जलाउनु नै पर्याप्त भएन र ?’ भन्दै प्रश्न गर्दै सिंहदरबारको इतिहास मेटाउने प्रयास बन्द गर्न चेतावनी दिइन् ।
उनले मुलुकमा जनताको निराशा बढ्दै गए पनि सरकारले त्यसतर्फ गम्भीर ध्यान नदिएको आरोप लगाइन् । जनतामा राज्यप्रति विश्वास घट्दै गएको भन्दै उनले सरकारलाई जनताका दैनिक समस्या तत्काल समाधान गर्न आग्रह गरिन् ।
घतानीले बजारमा देखिएको ग्यास अभाव तत्काल समाधान गर्न, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन र सहकारी पीडितको बचत फिर्ताको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
त्यस्तै, किसानलाई समयमै रासायनिक मल तथा उत्पादनको उचित बजार उपलब्ध गराउन, युवाका लागि रोजगारी सिर्जना गर्न र व्यवसायीलाई सहज रूपमा व्यापार गर्ने वातावरण बनाउन उनले सरकारसँग माग गरिन् ।
उनले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा अस्पतालमा देखिएको लामो लाइनको समस्या अन्त्य गर्नसमेत सरकारको ध्यानाकर्षण गराइन् ।
‘जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले ढुक्क बनाएको छ ?’ भन्दै प्रश्न गर्दै उनले प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन् ।
घतानीले सुकुम्बासी, सहकारी पीडित, किसान, शिक्षक, दलित र युवालगायत सबै वर्गका नागरिकले राज्यको उपस्थिति खोजिरहेको बताइन् ।
उनले भनिन्, ‘राज्य छ भन्ने अनुभूति नेपाली नागरिकले कहिले पाउने ?’
सिंहदरबारको नाम परिवर्तन गर्ने विषयतर्फ संकेत गर्दै उनले सिंहदरबार जलाएर क्षति पुर्याउने घटना नै पर्याप्त नभएको भन्दै अब यसको नाम परिवर्तन गरेर इतिहास नै मेटाउने प्रयास भइरहेको आरोप लगाइन् । उनले यस्तो चलखेल तत्काल बन्द गर्न आग्रह गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया