काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्यासको भरी सिलिन्डर बजार पठाउन थालेको केही दिनमै काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लामा उपभोक्ताले ग्यास अभावको सामना गर्नुपरेको छ ।
ग्यास नपाएपछि सर्वसाधारणहरु डिलरहरुमा रित्तो सिलिन्डर लिएर लाइनमा राख्न बाध्य भएका छन् ।
तर, नेपाल आयल निगमले भने बजारमा ग्यासको अभाव देखिए पनि आपूर्ति नियमित रहेको दाबी गरेको छ ।
निगमले शनिबार देखी काठमाडौं उपत्यकामा बजारीकरण गर्ने नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योगमार्फत बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको निगमका प्रवक्ता मनोज ठाकुरले लोकपथलाई जानकारी दिए ।
‘जति ग्यास आपूर्ति हुने हो त्यति नै ग्यास आएको छ । अहिले बजारमा माग बढी भएको कारण अभाव जस्तो देखिएको छ । सात दशमलव एक किलो ग्यास भएको सिलिण्डरबाट १४ दशमलव दुई किलोमा स्वीच हुँदा तत्काल समस्या देखिएको हो । बढीमा एक सातामा ग्यासको बिक्रीवितरण सहज हुनेछ,’ उनले लोकपथसँग भने ।
एलपी ग्यासको आयात तथा बिक्रीवितरण नियमित भइरहेको जनाउँदै प्रवक्ता ठाकुरले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न एवं अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेका छन् । उपभोक्ताबाट बजारमा ग्यास अभाव भएको भन्ने गुनासो आइरहेकातर्फ उद्योगीको ध्यानाकर्षण गराउँदै निगमले ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन उद्योगीलाई निर्देशन दिएको छ ।
निगमले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिन तथा खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको विवरण राखी ग्यासको बिक्री व्यवस्थित बनाउन बिक्रेतालाई आग्रह गरेको छ । दैनिक रुपमा मागअनुसार ग्यासको आपूर्ति भइरहेको स्पष्ट पार्दै निगमले ग्यास नपाएको अवस्थामा हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
निगमका प्रवक्ता ठाकुरका अनुसार गत जुलाईमा मात्रै करिब ४९ हजार मेट्रिकटन ग्यास आयात भएकोे छ । उद्योगीले यही साउन १ गतेदेखि १५ गतेसम्म २६ हजार मेट्रिक टन ग्यास आयात गरेका छन् ।
बजारमा ग्यासमा देखिएको अभावबारे सम्बन्धित निकायले अनुगमन गरिरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया