काठमाडौं । द ब्रिटिस मोडल कलेज (बीएमसी) का पाँच विद्यार्थीले विश्वकै प्रतिष्ठित युवा विकास कार्यक्रम ‘द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड’ अन्तर्गत ब्रोंज अवार्ड प्राप्त गरेका छन् ।
अवार्ड प्राप्त गर्ने विद्यार्थीहरूमा आर्या गुरुङ, मरिशा देवी गुरुङ, नेइर अमात्य, सियाना र शशांक झा रहेका छन् ।
उनीहरूलाई द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड नेपालद्वारा आयोजित नेशनल अवार्ड सेरेमोनी–२०२६ मा औपचारिक रूपमा सम्मान गरिएको हो । समारोह सोमबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न भएको थियो ।
समारोहमा देशभरबाट ब्रोंज, सिल्भर तथा गोल्ड अवार्ड प्राप्त गरेका युवाहरूलाई उनीहरूको मेहनत, आत्मविकासप्रतिको प्रतिबद्धता, नेतृत्व क्षमता तथा सामुदायिक सेवामा दिएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
विश्वव्यापी रूपमा मान्यता प्राप्त द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड युवा विकासमा केन्द्रित कार्यक्रम हो । यसले युवाहरूलाई नयाँ सीप सिक्न, शारीरिक रूपमा सक्रिय रहन, सामुदायिक सेवामा योगदान दिन तथा साहसिक गतिविधिमार्फत नेतृत्व र व्यक्तित्व विकास गर्न प्रेरित गर्छ । ब्रोंज अवार्डलाई सहभागीहरूको अनुशासन, निरन्तरता र व्यक्तिगत विकासको महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ ।

विद्यार्थीहरूको सफलतामा बधाई दिँदै बीईजी बोर्ड तथा बीएमसी कलेज व्यवस्थापनका तर्फबाट अरुण ले उनीहरूको मेहनत, समर्पण र प्रतिबद्धताले कलेजलाई गौरवान्वित बनाएको बताए । उनले विद्यार्थीहरूको उपलब्धिले अन्य विद्यार्थीलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिए ।
यस उपलब्धिसम्म विद्यार्थीहरूलाई आवश्यक मार्गदर्शन र निरन्तर सहयोग पुर्याउने राजन कुमार राई प्रति कलेजले विशेष आभार व्यक्त गरेको छ ।
द ब्रिटिस मोडल कलेजले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ । कलेजले विद्यार्थीहरूलाई सहपाठ्यक्रम, नेतृत्व विकास तथा चरित्र निर्माणका कार्यक्रमहरूमा सक्रिय सहभागिताका लागि प्रोत्साहित गर्दै आत्मविश्वासी, सक्षम र समाजप्रति उत्तरदायी नेतृत्व उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया