जनकपुरधाम । अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो एक सातामा १२५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालतको फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले विशेष अभियान सञ्चालन गरेको जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार गत असार २५ गतेदेखि साउन १ गतेसम्मको अवधिमा विभिन्न मुद्दामा सजाय तोकिएपछि फरार रहेका १२५ जना प्रतिवादी पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार असार २५ गते १० जना, असार २६ गते २६ जना, असार २८ गते २२ जना, असार २९ गते २८ जना, असार ३० गते १४ जना, असार ३१ गते १४ जना र साउन १ गते ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
धनुषा प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया