लगातारको वर्षाले नवलपरासीमा पहिरो र डुबान, ३५ जना विस्थापित

लोकपथ
14
Shares
फाइल तस्बिर

नवलपरासी । लगातारको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पहिरो, डुबान र सडक अवरुद्ध हुने घटना बढ्दै गएका छन् । विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै गैँडाकोटमा नौ घरमा पानी पस्दा ३५ जना विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अनुसार गैँडाकोट नगरपालिका–४ डनचोक क्षेत्रमा जङ्गलबाट आएको बाढी र नालीको पानी घरमा पस्दा नौ घर प्रभावित भएका छन् । तीमध्ये आठ घरका ३५ जना स्थानीय आफन्त तथा छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार घटनामा हालसम्म मानवीय वा चौपायाको क्षति भएको छैन । प्रभावित क्षेत्रको थप क्षतिको विवरण संकलन भइरहेको उनले बताए ।

गैँडाकोट नगरपालिका–१५ मा वडाध्यक्ष प्रेमराज तिमिल्सिनाको घरको तल्लो तलामा वर्षा र नालीको पानी पस्दा करिब २० क्विन्टल धान तथा लत्ताकपडा भिजेको छ । सोही क्षेत्रमा स्थानीय सुदीप रानाभाटको घरमा पनि पानी पस्दा लत्ताकपडा भिजेको भए पनि मानवीय क्षति वा विस्थापन भएको छैन । अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट प्रहरी टोली परिचालन गरी आवश्यक समन्वय गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, गैँडाकोट नगरपालिका–३ चिसापानी नजिक कालीगण्डकी करिडोर सडकखण्डमा सोमबार राति अविरल वर्षापछि माथिबाट पहिरो खस्नुका साथै सिसौ र सालका रुख ढलेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको टोलीले सडक खुलाउने समन्वय गरिरहेको छ ।

यसअघि हुप्सेकोट गाउँपालिका–४ र ५ को सिमानास्थित रातेखोलामा पानीको बहाव बढेपछि रुम्झाटार जाने भित्री सडक अवरुद्ध भएको थियो । साथै, हुप्सेकोट गाउँपालिका–६ को बाडाखोलामा पहिरो खस्दा झ्यालवासदेखि वडा नं.६ कार्यालय जाने भित्री सडकसमेत अवरुद्ध भएको छ । दुवै स्थानमा प्रहरी र स्थानीय तहको समन्वयमा सडक खुलाउने प्रयास जारी रहेको छ ।

अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो, डुबान र सडक अवरोधका घटना बढिरहेको भन्दै प्रहरी उपरीक्षक खड्काले प्रभावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जानकारी दिए । वर्षा निरन्तर भइरहेकाले नदी किनार, पहाडी सडक र जोखिमयुक्त बस्तीमा निगरानीसमेत बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?