काठमाडौं । बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आजदेखि पाँच वटा समस्याग्रस्त सहकारीका साना बचतकर्ताको पैसा फिर्ता गर्ने भएको छ ।
समितिका अनुसार सिभिल बचत तथा ऋण सहकारी, दर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी र लालीगुराँस बचत तथा ऋण सहकारीका साना बचतकर्तालाई पैसा फिर्ता गरिनेछ ।
यी सहकारीका बचतकर्ताले बढीमा एक लाख रुपैयाँसम्मको रकम फिर्ता पाउनेछन् । तर दर्शन सहकारीका बचतकर्ताले भने १० हजार रुपैयाँसम्म मात्र पाउनेछन् ।
ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा आयोजित कार्यक्रममा बचत फिर्ता सुरु गरिने समितिले जनाएको छ । असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी भइरहेको छ ।
समितिले बचतकर्ताको विवरण जाँच गर्ने काम पूरा गरिसकेको छ । रकम फिर्ताका लागि करिब नौ करोड रुपैयाँ जम्मा भइसकेको छ ।
समितिका अनुसार पाँच सहकारीका करिब तीन हजार साना बचतकर्ताले आफ्नो रकम फिर्ता पाउनेछन् । यसअघि समितिले ती सहकारीका १ सय १४ जना ठूला ऋणीको नाम सार्वजनिक गर्दै ऋण तिर्न आग्रह गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया