काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सरकारले हुलाक सेवालाई सार्वजनिक-निजी साझेदारी (पीपीए) मोडेलमार्फत आधुनिकीकरण गर्दै प्रभावकारी बनाउने योजना अघि बढाएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सरकारी र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै नागरिकलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न सकिने बताए ।
उनले सरकारले हुलाक सेवाको नीतिगत तथा संरचनागत सुधारलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै हालको संरचनाको कार्यक्षमता अभिवृद्धि गर्न व्यापक सुधार आवश्यक रहेको बताए ।
मन्त्री तिमिल्सिनाका अनुसार सरकारले सय दिनभित्र हुलाक क्षेत्रसँग सम्बन्धित केही महत्त्वपूर्ण सुधारका काम सुरु गरेको छ र ती काममा उत्साहजनक प्रगति भएको छ । आगामी वर्ष हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाउने लक्ष्यका साथ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको उनले बताए ।
उनले सम्पूर्ण हुलाक सेवा सरकारको एकल प्रयासबाट मात्रै प्रभावकारी रूपमा सञ्चालन गर्न सम्भव नहुने भन्दै सार्वजनिक–निजी साझेदारीमार्फत सेवा विस्तार र गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।
मन्त्री तिमिल्सिनाले हुलाक क्षेत्रका सरोकारवालालाई देखिएका समस्या समाधानका लागि सरकार सहजीकरण गर्न तयार रहेको पनि बताए ।
कार्यक्रममा उनले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकले गर्व गर्न सक्ने संस्थाका रूपमा विकास गर्न सम्बन्धित निकायका कर्मचारीलाई निर्देशनसमेत दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया