काठमाडौं । देशभर मनसुनी गतिविधि थप सक्रिय भएसँगै आज र भोलि विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । ती क्षेत्रमा आगामी केही घण्टासम्म थप वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाशाखाले आज र भोलि मनसुनी गतिविधि अझ सक्रिय हुने जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको छ। साथै यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ ।
बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्दै गएको र त्यसकै प्रभावले वर्षाको तीव्रता बढ्ने मौसमविद्ले बताएका छन् ।
भारीदेखि धेरै भारी वर्षाका कारण भूक्षय, बाढी र पहिरोको जोखिम बढ्न सक्ने महाशाखाले चेतावनी दिएको छ । सहरी तथा तराई क्षेत्रहरूमा डुबान हुन सक्ने, साथै ठूला तथा साना नदी, खोला र नालाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया