भोलि र पर्सि ‘भारी वर्षा’, प्राधिकरणले भन्यो– ‘सतर्कता अपनाउनु, सुरक्षित भएर बस्नु’

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि मंगलबार र पर्सि बुधबार देशका विभिन्न स्थानमा भारी वर्षा तथा एक÷दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना औंल्याउँदै आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले आइतबार सूचना जारी गर्दै अकस्मात् बाढी आउनसक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन पनि आग्रह गरेको छ । यस्तै पहिरोको जोखिममा रहेका स्थान तथा खोला÷नदी किनाराका बस्तीका बासिन्दालाई पनि सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार र बुधबार मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको पनि जनाएको छ । प्राधिकरणले पहाडी र तराई भू–भागका धेरै स्थानमा तथा हिमाली भूभागका केही स्थानमा समेत मेघ गर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्राधिकरणले डुबान हुने बस्तीका बासिन्दालाई आवश्यक पर्नासाथ उँचो र सुरक्षित स्थानमा जान तथा तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको  छ ।

यस्तै जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, एक्साभेटर, लोडरलगायत साधन तयारी अवस्थामा राख्न तथा पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न प्राधिकरणको आग्रह छ । प्राधिकरणले वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपदमा मद्दत माग्न ११४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल, नेपालको १११४ हटलाइन नम्बर मोबाइलमा ‘सेभ’ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न अनुरोध गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?