धनगढी । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन कैलाली जिल्ला कार्यसमितिले आज धनगढीमा विशेष विचार गोष्ठी आयोजना गर्ने भएको छ ।
कार्यक्रम आज दिउँसो १ः३० बजे धनगढीस्थित मनमोहन स्मृति भवन (नेकपा एमाले पार्टी कार्यालय) मा हुने जनाइएको छ ।
गोष्ठीमा नेपालको कम्युनिस्ट आन्दोलन, जनताको बहुदलीय जनवाद जबज तथा मदन भण्डारीले अघि सारेको राजनीतिक विचारमाथि विस्तृत छलफल गरिने आयोजकले जनाएको छ ।
फाउन्डेसनका कैलाली जिल्ला अध्यक्ष रामचन्द्र जोशीका अनुसार कार्यक्रमको मुख्य उद्देश्य सुदूरपश्चिमका विभिन्न कम्युनिस्ट धारका शीर्ष नेताहरूलाई एउटै मञ्चमा ल्याई वैचारिक बहस, एकता र संगठनात्मक सन्देश प्रवाह गर्नु हो ।
कार्यक्रममा नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट, सुदूरपश्चिम प्रदेश इन्चार्ज दामोदर भण्डारी, केन्द्रीय सदस्य कर्ण थापा तथा नेपाल कम्युनिस्ट पार्टीका नेता दीर्घ सोडारी, रमेश धामीलगायत नेताहरूलाई आमन्त्रण गरिएको अध्यक्ष जोशीले जानकारी दिए ।
गोष्ठीमा जनताको बहुदलीय जनवाद (जबज) को वर्तमान सान्दर्भिकता, नेपाली कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको योगदान तथा समकालीन राजनीतिक परिवेशमा त्यसको महत्वबारे गहन विमर्श हुने बताइएको छ ।
आयोजकका अनुसार कार्यक्रम केवल जन्मजयन्ती मनाउने औपचारिकता नभई मदन भण्डारीको राजनीतिक दर्शन नयाँ पुस्तासम्म पुर्याउने, वैचारिक बहसलाई सशक्त बनाउने तथा कम्युनिस्ट आन्दोलनमा संवाद, सहकार्य र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
फाउन्डेसनले यसलाई सुदूरपश्चिममा कम्युनिस्ट आन्दोलनबीच वैचारिक एकताको वातावरण निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया