काठमाडौं । दुई करोड ६९ लाख ५० हजार रुपैयाँबराबरको भेप (विद्युतीय चुरोट) सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ का ३६ वर्षीय रामकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।
सोमबार बेलुका करिब ५ः३० बजे उनी सिन्धुपाल्चोकको तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै थिए । उनी प्रदेश ०३–०१–०२४ च ९२१९ नम्बरको बोलेरो जीपमा सवार थिए ।
सोही गाडीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा सात हजार ७०० थान भेपसहित बाह्रबिसे–१०, खाग्दलबाट उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी जेसी शाहले जानकारी दिए ।
थप अनुसन्धान तथा कारबाहीका निम्ति उनलाई तातोपानी भन्सार कार्यालयमा बुझाइएको छ । उनको साथबाट उक्त भेप र गाडी बरामद गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया