काठमाडौं । नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले नेतृत्व सम्हालेसँगै संस्थागत र नीतिगत कार्यहरू अघि बढाएको छ ।
सरकारको पछिल्लो कार्यविभाजनअनुसार साविक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि क्षेत्र अलग गरी ‘नवप्रवर्तन’ थपेर नयाँ मन्त्रालय गठन गरिएको हो ।
यस मन्त्रालयको जिम्मेवारी स्वतन्त्र सांसद महावीर पुनले सम्हालेका छन् । उनले मंगलबारदेखि मन्त्रीका रूपमा पदबहाली गर्दै काम सुरु गरेका हुन् ।
मन्त्रालयको सचिवका रूपमा इञ्जिनियरिङ सेवाकी प्रमिला बज्राचार्यले केही दिनअघि जिम्मेवारी सम्हालेकी छन् । सचिव बज्राचार्यका अनुसार मन्त्रालयले सिंहदरबारस्थित साविक युवा तथा खेलकुद मन्त्रालयको कार्यालयबाट औपचारिक रूपमा काम सुरु गरेको छ ।
मन्त्री पुनले मन्त्रालयलाई शून्यबाट निर्माण गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पदबहालीलगत्तै संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने निर्णय गरेका थिए ।
त्यस्तै, सचिव बज्राचार्यले मन्त्री पुनको निर्देशनअनुसार मन्त्रालयले आधारभूत प्रणाली निर्माणको काम सुरु गरेको बताइन् । उनका अनुसार मन्त्रालयको वेबसाइटको टेम्प्लेट तयार गरी सूचना प्रविधि विभागलाई पठाइसकिएको छ र प्राविधिक कारणले ७२ घण्टापछि मात्र अपलोड हुनेछ ।
नवप्रवर्तन मन्त्रालयमा हाल २४ जना कर्मचारी दरबन्दी रहेका छन् भने नयाँ संगठन संरचना तयार भएपछि संख्या थपिने जनाइएको छ । मन्त्री पुन पनि मन्त्रालयमै सरकारी निवास कायम गर्ने गरी आजदेखि सिंहदरबारस्थित कार्यालयमा सरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया