काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमानुसारको शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ ।
मन्त्रालयका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशन तथा मन्त्रालयको सक्रिय पहलमा उक्त निर्णय गरिएको हो ।
स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानुनी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यले बक्यौता रकम असुली प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएका विषयहरूलाई सम्बोधन गर्दै शुल्क नबुझाएका स्वास्थ्य संस्थाहरूबाट बक्यौता असुल गर्ने प्रक्रिया कार्यान्वयन चरणमा प्रवेश गरेको जानकारी दिएको छ ।
यस विषयमा मन्त्री मेहताले स्वास्थ्य सेवा क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र नियमसम्मत बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताइन् । उनले कानुन तथा निर्धारित मापदण्डविपरीत हुने गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पारिन् ।
मन्त्रालयका अनुसार उक्त कदमले स्वास्थ्य संस्थाहरूलाई कानुनी दायित्व पालना गर्न थप जिम्मेवार बनाउने तथा स्वास्थ्य क्षेत्रको नियमनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया