राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राज्य संरचनामा रहेका जिम्मेवार व्यक्तिहरूको सोच र कार्यशैलीमा परिवर्तन नआउँदा दलित समुदायको जीवनस्तरमा अपेक्षित सुधार हुन नसकेको बताएका छन् । 

बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष विश्वकर्माले मुलुकमा उत्कृष्ट संविधान र कानुन निर्माण भए पनि त्यसले दलित समुदायको दैनिक जीवनमा परिवर्तन ल्याउन नसकेको उल्लेख गरेका हुन् । 

अध्यक्ष विश्वकर्माले दलित समुदाय अझै पनि गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत आवश्यकताबाट वञ्चित हुनुपरेको बताए ।  दलित समुदायको उत्थान र मूल प्रवाहीकरणका लागि बजेट विनियोजन गर्दा त्यसलाई ‘अनुत्पादक खर्च’ मान्ने प्रवृत्ति अहिले पनि हाबी रहेको उनको तर्क छ । 

दलित अधिकार र महिला अधिकारका विषयमा कुरा गर्दा त्यसलाई हिंसा भड्काउने कार्यका रूपमा बुझ्नु गलत भएको भन्दै उनले विभेदका विषयमा खुला बहस र संवाद आवश्यक रहेको बताए । दिगो विकास लक्ष्यको ‘कसैलाई पछाडि नछोडौँ’ भन्ने नारालाई स्मरण गराउँदै अध्यक्ष विश्वकर्माले युगौँ देखि किनारीकृत दलित समुदायलाई बाहिर राखेर मुलुक अगाडि बढ्न नसक्ने बताए । उनले राज्य निश्चित व्यक्ति वा ‘सुकिलामुकिला’ वर्गको मात्र नभई सीमान्तकृत र आर्थिक–सामाजिक रूपमा पिछडिएका सबै नागरिकको साझा हुनुपर्नेमा जोड दिए । 

उनले भने, ‘आज पनि दलित समुदायको जीवन अत्यन्त कष्टकर छ । आधारभूत आवश्यकताहरू-गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीबाट उनीहरू वञ्चित हुनुपरेको अवस्था छ । हामीले राम्रो संविधान बनायौँ, केही ऐन–कानुनको व्यवस्था पनि गर्‍यौँ, तर संविधान र ऐन–कानुनका व्यवस्थाले मात्र जनताको जीवन परिवर्तन नहुने रहेछ । राज्य संरचनामा जिम्मेवारी लिने व्यक्तिको सोच र कार्यशैलीमा नै राज्य व्यवस्था मुखरित हुँदो रहेछ । दलित समुदायको आँखाबाट हेर्दा हाम्रो कार्यशैलीमा मनुस्मृति र १९१० को मुलुकी ऐनकै प्रतिबिम्ब झल्किरहेको जस्तो देखिन्छ । दलित समुदायको उत्थान र मूल प्रवाहीकरणका लागि रकम विनियोजन गर्नुपर्दा त्यसलाई अनुत्पादक खर्चका रूपमा हेर्ने मानसिकता अहिले पनि हाबी छ । दलितको कुरा गर्नु भनेको दलितमाथि हिंसा थोपर्नु हो भन्ने कतिपय मानिसहरूको मान्यता रहेको देखिन्छ। त्यसगरी, महिला अधिकारको कुरा गर्नु भनेको महिला हिंसा सिकाउनु हो भन्ने बुझाइ पनि रहेको देखिन्छ । विगतमा भएका र अहिले पनि भइरहेका विभेदका विषयमा सघन छलफल र संवाद गरिएन भने हामीले समस्याको सही समाधान गर्न सक्दैनौँ । त्यसैले यस विषयमा खुलेर बहस गर्नुपर्छ भन्ने आयोगको मान्यता रहेको छ । खुलेर बहस गर्नुको अर्थ विभेद सिकाउनु होइन । समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न यसले महत्वपूर्ण भूमिका खेल्छ भन्ने हामीलाई लाग्छ । दिगो विकास लक्ष्यको आदर्श वाक्य ‘कसैलाई पनि पछाडि नछोडौँ’ रहेको छ । तर युगौँदेखि किनारीकृत दलित समुदायलाई हामीले बिर्सिरहेका छौँ र उनीहरूबिनै पनि हामी अगाडि बढ्न सक्छौँ भन्ने सोच पालिरहेका छौँ । दलितको कुरा आउँदा झिझो मान्ने र अनिच्छा प्रकट गर्ने प्रवृत्ति बारम्बार दोहोरिरहेको देखिन्छ । राज्य सुकिला–मुकिला वा स्वघोषित योग्यहरूको मात्रै होइन; कमजोर, फोहोर मैला जीवन बाँचिरहेका र जबरजस्ती अनन्त अयोग्यताको दुष्चक्रमा धकेलिएकाहरूको पनि हो भन्ने सत्यलाई हामीले नबुझ्ने हो भने राज्य केही व्यक्तिहरूको मात्रै हुन्छ भन्ने कुरा बुझ्नु जरुरी छ । राष्ट्रिय दलित आयोगले राज्य कमजोर र पिँधमा धकेलिएकाहरूको पनि हो भन्ने मान्यताको पैरवी गरिरहेको छ । राज्य स्थापनादेखि राज्यका जति पनि साधन–स्रोतहरू छन्, ती निश्चित व्यक्ति र निश्चित समुदायको हातमा मात्र केन्द्रित भइरहेका छन् भन्ने विभिन्न अध्ययनका तथ्यहरूले देखाएका छन् । त्यसैले अहिले राज्यका तर्फबाट अवलम्बन गरिएको सकारात्मक विभेदको नीतिलाई पनि विभिन्न ढंगले उपहास गर्ने र बदनाम गर्ने प्रयत्न भइरहेका छन् । मानवको दर्जासमेत नपाएका दलित समुदायको हक–अधिकारको विषय कसैका लागि पनि उपहासको विषय बनाइनु हुँदैन भन्ने हाम्रो मान्यता छ । सोही अनुसार राज्यका सबै निकायहरूलाई हामीले आफ्नो तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न आग्रह गर्दै आएका छौँ ।’

अध्ययनहरूले राज्यका स्रोत र साधनहरू अझै पनि निश्चित समुदायको पकडमा रहेको देखाएको उल्लेख गर्दै उनले हाल राज्यले अवलम्बन गरेको ‘सकारात्मक विभेद’ को नीतिको उपहास भइरहेकोमा चिन्ता व्यक्त गरे । दलित समुदायको हक अधिकारको विषयलाई कसैले पनि उपहासको विषय बनाउन नहुने भन्दै राष्ट्रिय दलित आयोगले यसका लागि निरन्तर पैरवी गरिरहने उनले प्रतिबद्धता व्यक्त गरे  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?