कर्णाली करिडोरको हुम्ला खण्डमा सुक्खा पहिरो, यातायात अवरुद्ध

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । सिमकोट (हुम्ला), कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगार्ड गाउँपालिका–१ स्थित खच्चा क्षेत्रमा सडक अवरुद्ध भएको छ । बुधबार माथिबाट खसेको सुक्खा पहिरोले सडक पुरेपछि यातायात सेवा पूर्ण रूपमा बन्द भएको हो ।

प्रहरीका अनुसार करिब दश मिटर माथिबाट खसेको पहिरोले सडक ढुंगा र माटोले पुरिएको छ । पहिरो पन्छाउन प्रारम्भिक प्रयास भए पनि आवश्यक उपकरणले काम गर्न नसकेपछि सडक खुलाउन कठिनाइ भएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले पहिरो हटाउन ठूला उपकरण आवश्यक रहेको र ती उपकरणको खोजी तथा व्यवस्थापन भइरहेको जानकारी दिए । उपकरण उपलब्ध भएपछि सडक खुलाउने तयारी गरिएको छ ।

सडक अवरुद्ध हुँदा माथिल्लो हुम्लाका पाँचवटा गाउँपालिकासम्म जाने तथा आउने यातायातका साधन खच्चा र सर्केगार्ड क्षेत्रमा रोकिएका छन् । लगातार सोही स्थानमा सुक्खा पहिरो खसिरहने समस्या देखिँदै आएको स्थानीयले बताएका छन् ।

स्थानीयवासीले सडक अवरुद्ध हुँदा दैनिक आवतजावत, आपूर्ति व्यवस्था र आपतकालीन सेवामा समेत समस्या उत्पन्न भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?