काठमाडौं । सर्वोच्च अदालतले दैनिक पेशी व्यवस्थापनको लागि अवलम्बन गरिएको गोला प्रक्रियाको बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा नरहेको स्पष्ट पारेको छ ।
डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेपछि दैनिक पेशी व्यवस्थापनको लागि अवलम्बन गरिएको गोला प्रक्रिया हटाउने समाचार सार्वजनिक भइरहेको बेला सर्वोच्च अदालतले यो विषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो ।
सर्वोच्च अदालतका प्रवक्तासमेत रहेका सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले बुधबार विज्ञप्ति जारी गरी गोला प्रक्रियालाई परिवर्तन गर्ने सम्बन्धमा आधिकारिक रूपमा कुनै धारणा समेत नरहेको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका, २०७८ जारी भई सोहीबमोजिम मुद्दाको पेशी व्यवस्थापन हुँदै आएको सवैमा विदितै छ । विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जालमा अदालतहरूमा लागू भएको उक्त गोला प्रक्रियाको विकल्प सोचिएको भन्ने जस्ता समाचारहरू प्रकाशित भएकोमा यस अदालतको गम्भीर ध्यानाकर्षण भएको छ । दैनिक पेशी व्यवस्थापनको लागि अवलम्बन गरिएको गोला प्रक्रियाको बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिक रूपमा कतै पनि चर्चा र छलफल नभएको तथा गोला प्रक्रियालाई परिवर्तन गर्ने सम्बन्धमा आधिकारिक रूपमा कुनै धारणासमेत नरहेको हुँदा सञ्चार माध्यम एवं सामाजिक सञ्जालमा प्रकाशित एवं प्रसारित समाचार एवं व्यक्त भएका धारणा तथ्यमा आधारित नभएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया