बाँदर हटाउन ‘डमी बाघ’ हुनसक्छ उपयोगी

लोकपथ
35
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले बाँदर आतंक नियन्त्रणका लागि डमी बाघ उपयोगी हुने कथा संसदमा प्रस्तुत गरेका छन् ।

बाँदर आतंकका कारण किसानले अन्नबाली जोगाउन नसकेको विषयले संसदमा दैनिकजसो प्राथमिकता पाएपछि उनले तनहुँका एक किसानको दृष्टान्त पेश गर्दै डमी बाघको प्रयोग गरेर उक्त आतंक नियन्त्रण गर्न सकिने बताए ।

तनहुँ शुक्ला गण्डकी–३ का किसान पहलसिंह गुरुङको सुन्तला बगानमा पुगेर १२ सय रुपैयाँमा किनेको डमी बाघले दुई सिजन सुन्तला सफलतापूर्वक जोगाएको अनुभव सांसद न्यापानेले संसदमा सुनाउनुभएको हो । जहाँ डमी बाघलाई सुन्तला बगानमा राख्दा पहिलो वर्ष बाँदर नआएको, दोस्रो वर्ष दैनिक उक्त डमी बाघलाई सार्नुपर्ने अवस्था आएको उल्लेख गर्दै दुई वर्षसम्म बाँदरबाट सुन्तला जोगाउन सफल भएको थियो ।

सांसद न्यौपानेले डमी बाघलाई प्रविधि जोडेर व्यवस्थापन गर्नसके कुनैपनि अन्नवाली जोगाउन सकिने सो उपाय अवलम्वन हुनेगरी सरकारले डमी बाघ प्रणाली जडान गर्न पनि माग गरे । उनले सरकारलाई तत्काल राष्ट्रिय बाँदर व्यवस्थापन नीति ल्याउन र प्रभावित क्षेत्रलाई विशेष बाँदर सुरक्षा क्षेत्र घोषणा गर्न पनि माग गरे ।

उनले भने, ‘मेरो निर्वाचन क्षेत्रका एक किसानले आज बिहान फोनमा भन्नुभयो, माननीय ज्यू, बरु सडक र विकास ढिला होस् । बाँदरबाट अन्नबाली जोगाई दिनु पर्‍यो । यो केवल गुनासो होइन । नेपालको कृषि, किसान र खाद्य सुरक्षा माथिको गम्भिर संकट हो । पहाडका किसान दिनभर खेतमा कुरुवा बस्न बाध्य छन् । कसैको मकै, कसैको सुन्तला, कसैको तरकारीबाली नष्ट भएको छ । कतिपय किसान बसाई सराई गर्न बाध्य भएका छन् । म तीन दिनअघि तनहुँ शुक्ला गण्डकी ३ का किसान पहलसिंह गुरुङको सुन्तला बगानमा पुगेर १२ सय रुपैयाँमा किनेको डमी बाघले दुई सिजन सुन्तला सफलतापूर्वक जोगाएको अनुभव सुन्न पाएँ । सुन्तला बारीमा डमी बाघ राख्दा पहिलो वर्ष बाँदर आउँदैआएन । दोस्रो वर्ष दैनिक ठाउँ सार्नुपर्ने देखियो । तेस्रो वर्ष बुद्धिमानी बाँदरले टेरेन । दुई वर्ष सम्म डमी बाघले पूर्ण रुपमा सुन्तला जोगाएको कथा उहाँले सुनाउनु भयो । जहाँ बाघ बस्छ, त्यहाँ बाँदर बस्दैन । गाउँमा बाघले खोरबाट बाख्रा लगेको वर्ष बाँदर नै नआएको थुप्रै उदाहरणहरु छन । डमी बाघमा आवश्यक्ता अनुसार आधुनिक प्रविधि थप्दै गएर बाँदर नियन्त्रण सम्भव छ । चलाएमान डमी बाघ, सेन्सरयुक्त बाघको गर्जन, बाघको गन्ध आउने सेन्ट, आँखामा चम्किलो लाईटजस्ता उपायले थोरै खर्चमा राम्रो नतिजा आउने देखिन्छ । बाँदर मार्ने होइन, बैज्ञानिक र नयाँ ढंगले नियन्त्रण गर्ने हो । म सरकारसँग स्पष्ट माग गर्दछु–तत्काल राष्ट्रिय बाँदर व्यवस्थापन नीति ल्याईयोस् । बाँदर प्रभावित क्षेत्रलाई विशेष बाँदर सुरक्षा क्षेत्र घोषणा गरियोस । र डमी बाघ प्रणाली सहित भारत लगायत अन्तर्राष्ट्रिय अभ्यासमा रहेको बन्ध्याकरण कार्यक्रम एकीकृत रुपमा संचालन गरियोस् ।’

सांसद न्यौपानेले सरकारले भारतलगायतका अन्य मुलुकको अनुभवलाई समेत ध्यानमा राखेर बाँदरको बन्ध्याकरण गर्न पनि सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?