काठमाडौं । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर उपचारका लागि आवश्यक केही महत्वपूर्ण औषधिको अभाव भएको छ । अस्पतालका अनुसार यो समस्या नेपालमा मात्र नभई विश्वभर देखिएको हो ।
अस्पतालका मेडिकल अङ्कोलोजी विभाग प्रमुख डा। गुरुशरण साहले विशेष गरी कार्बोप्लाटिन र सिसप्लाटिन नामका औषधि निकै कम भएको बताए । यी औषधि केमोथेरापी उपचारका मुख्य आधार मानिन्छन् । उनका अनुसार औषधि अभाव हुँदा उपचारको प्रभाव घट्ने र बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।
डा.साहले यी औषधि बनाउन प्रयोग हुने कच्चा पदार्थको विश्वव्यापी कमीका कारण समस्या आएको बताए । उनले निकट भविष्यमा अक्सालोप्लाटिन औषधिको पनि अभाव हुन सक्ने चेतावनी दिए ।
अस्पतालमा दैनिक करिब २०० जना बिरामीले केमोथेरापी सेवा लिने गरेका छन् । तर मुख्य औषधि नहुँदा उपचारमा सम्झौता गर्नुपरेको अस्पतालको भनाइ छ ।
कतिपय बिरामीले भारत वा अन्य ठाउँबाट औषधि ल्याउने गरेका छन् । तर अस्पतालले यस्ता औषधि गुणस्तरीय नहुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । क्यान्सरका औषधि कम तापक्रममा राख्नुपर्ने भए पनि गर्मीमा झोलामा बोकेर ल्याउँदा औषधिको असर कम हुन सक्ने चिकित्सकहरूको भनाइ छ ।
अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा.शिवजी पौडेलका अनुसार सिसप्लाटिनको स्टक तीन महिनाअघि सकिएको हो भने कार्बोप्लाटिन पनि हालै सकिएको छ । सप्लाई गर्ने कम्पनीहरूले कच्चा पदार्थ अभावका कारण उत्पादन बन्द भएको जानकारी दिएका छन् ।
अस्पतालले स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) सँग सहयोग मागेको छ । बालबालिकाका लागि छुट्टै परियोजनाअन्तर्गत रहेको केही औषधि अन्य बिरामीलाई पनि प्रयोग गर्न अनुमति मागिएको अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनले अवैध रूपमा औषधि बिक्री गर्ने र बिरामीलाई अन्य औषधि पनि जबरजस्ती किन्न लगाउने गतिविधिमाथि सरकारले कडा अनुगमन गर्नुपर्ने माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया