नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रभातफेरी , विधान महाधिवेशन पनि हुँदै

लोकपथ
28
Shares

काठमाडौं । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ । दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाडौंमा विधान महाधिवेशन आयोजना गरेको छ ।

विधान महाधिवेशनको पूर्वसन्ध्यामा बिहान ७ बजे माइतीघर मण्डलामा प्रभातफेरी आयोजना गरिएको छ । बिहान ९ बजेदेखि विधान महाधिवेशन सुरु हुने युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिए । विधान महाधिवेशनको उद्घाटन प्रथम राष्ट्रपति डा.रामवरण यादवले गर्ने तय भएको पनि उनले बताए ।

विधान महाधिवेशनका लागि सबै शाखाबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा तोकिएबमोजिमका प्रतिनिधिहरू काठमाडौं आइपुगेको युनियनका उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिए ।

२०४८ साल जेठ १३ गते श्रमजीवी पत्रकारहरूको हकहित संरक्षणका लागि भएको ट्रेड युनियन आन्दोलनकै उपजका रूपमा नेपाल प्रेस युनियनको स्थापना भएको थियो । नेपालका सञ्चारकर्मीलाई संगठित गरी श्रमजीवी पत्रकारहरूको पक्षमा वकालत गर्दै आएको युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था पनि हो ।

युनियनको पहिलो तथा तदर्थ समितिको संयोजक पूर्वमन्त्री तथा तत्कालीन पत्रकार जेपी गुप्ता रहेका थिए । १७ जना संस्थापक सदस्यहरूमा हरि अधिकारी, रमेश तुफान, राजेश ढुंगाना, शिरीषबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, हरिहरप्रसाद श्रेष्ठ, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान रहेका थिए ।

युनियनको नेतृत्व हालसम्म हरि अधिकारी, रमेश तुफान, तारा बराल, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा, समीरजंग शाह, किरण पोखरेल र बद्री सिग्देलले गरिसकेका छन् भने हाल शिव लम्सालले नेतृत्व गरिरहनुभएको छ ।

युनियनले श्रमजीवी पत्रकारहरूको हकअधिकार, प्रेस स्वतन्त्रता, लोकतन्त्र तथा मिडियामैत्री नीतिगत व्यवस्थाका लागि नेतृत्वदायी भूमिका खेल्दै आएको महासचिव दिलीप पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?