किन पुरुषमा भन्दा महिलामा थाइराइड समस्या धेरै हुन्छ ? यस्ता छन् कारण

लोकपथ
0
Shares

थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण (मेटाबोलिज्म) गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ । पछिल्लो समय थाइराइड रोगका बिरामी संसारभरि नै बढिरहेका छन् ।

थाइराइड हर्मोन शरीरलाई एकदम आवश्यक पर्छ । टाउकोदेखि खुट्टासम्म शरीरका हरेक अंगलाई यो हर्मोन चाहिन्छ । यसले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया) लाई नियन्त्रण गर्छ । थाइराइड ग्रन्थि हाम्रो घाँटीको तलपट्टि हुन्छ, जसले हर्मोन उत्पादन गर्छ । थाइराइड रोग लागेमा हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र कम हुनुलाई हाइपो थाइराइडिज्म भनिन्छ ।

इन्डोक्राइनोलोजिष्ट तथा हर्मोन विशेषज्ञहरूले महिलामा पुरुषको तुलनामा थाइराइडको जोखिम बढी हुने बताएका छन् । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालका इन्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडाका अनुसार १५ देखि २० प्रतिशत महिलामा हाइपरथाइरोडिज्म देखिन सक्ने सम्भावना हुन्छ भने पुरुषमा यो दर करिब ५ देखि ८ प्रतिशत मात्र रहेको छ ।

डा. खतिवडाले थाइराइड घाँटीको अगाडिको भागमा रहेको सानो तर महत्वपूर्ण ग्रन्थी भएको उल्लेख गर्दै यसले शरीरका लागि आवश्यक हर्मोन उत्पादन गर्ने बताए । उनका अनुसार थाइराइड हर्मोनले बालबालिकाको दिमागी विकासदेखि वयस्कमा ऊर्जा, स्फूर्ति, मुटुको कार्य र पाचन प्रणाली सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका खेल्छ ।

उनले थाइराइड हर्मोन असन्तुलन हुँदा विभिन्न समस्या देखिने बताए । हर्मोन बढी हुँदा हात काँप्ने, मुटु ढुकढुक हुने, आत्तिने, धेरै गर्मी महसुस हुने तथा दुब्लाउने जस्ता लक्षण देखिने उल्लेख गर्दै यस्तो अवस्थालाई हाइपरथाइरोडिज्म भनिने उनले बताए । यस अवस्थामा टी–थ्री र टी–फोर हर्मोन बढ्ने र टीएसएच घट्ने हुन्छ, जसका लागि हर्मोन घटाउने औषधि आवश्यक पर्ने उनले बताए ।

त्यस्तै, हर्मोन कमी हुँदा थकाइ लाग्ने, अनुहार फुस्रो हुने, कपाल झर्ने, खुट्टा सुन्निने जस्ता समस्या देखिने र यसलाई हाइपोथाइरोडिज्म वा सुस्त थाइराइड भनिने चिकित्सकहरूले बताएका छन् ।

डा.खतिवडाले थाइराइड ग्रन्थीमा कहिलेकाहीँ दुखाइ वा ट्युमर पनि देखिन सक्ने उल्लेख गर्दै अधिकांश ट्युमर उपचारयोग्य हुने बताए । तर गाँठागुँठी देखिएमा अल्ट्रासाउन्ड तथा आवश्यक परीक्षण गरेर क्यान्सर भए नभएको पहिचान गर्नुपर्ने उनले बताए ।

पुष्पाञ्जली अस्पतालका फिजिसियन डा.भोजराज अधिकारीका अनुसार महिलामा २५ देखि ५० वर्षको उमेर तथा प्रसूति अवस्थासँग सम्बन्धित समयमै थाइराइड समस्या बढी देखिन्छ । थाइराइड कम हुँदा शरीर सुस्त हुने, वजन बढ्ने र दैनिक क्रियाकलापमा असर पर्ने उनको भनाइ छ । नियमित औषधि सेवनबाट यो समस्या नियन्त्रणमा राख्न सकिने उनले बताए ।

इन्डोक्राइनोलोजिष्ट डा.उमनाथ अधिकारीले महिलामा अटो इम्युनिटी बढी हुने भएकाले थाइराइडको समस्या पनि बढी देखिने बताए । उनका अनुसार यसै कारण महिलामा बाथरोगजस्ता अन्य अटो इम्युन रोग पनि बढी देखिन्छन् । थाइराइड असन्तुलनले महिनावारी गडबडीदेखि शरीर दुख्ने, गल्ने र मोटाउने समस्या निम्त्याउन सक्ने उनले बताए ।

विशेषज्ञहरूले समयमै परीक्षण र उपचार गरे थाइराइड सम्बन्धी समस्या नियन्त्रणमा राख्न सकिने सुझाव दिएका छन् ।

थाइराइड रोग लाग्नुका कारणहरू निम्न छन्

१. थाइराइड रोग सामान्यतया शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी भएकै कारण लाग्ने गर्छ। वंशानुगत रुपमा पनि यो रोगले सताउने गर्छ ।

२. रुघा लागेमा वा भाइरल इन्फेक्सन भएमा थाइराइड ग्रन्थिमा संक्रमण भएर यो रोग देखिन सक्छ ।

३. विभिन्न केमिकल्स (रसायन) र अन्य कारणले वातावरणीय प्रदूषणले गर्दा पनि यो रोग लाग्ने गर्छ ।

४.लामो समयसम्म औषधिको प्रयोगले पनि मानिसहरूमा थाइराइडको समस्या देखिने गर्छ। जस्तैः मानसिक रोग, मुटु रोगका बिरामीलाई प्रयोग गरिने औषधिका कारण पनि थाइराइड रोग लाग्न सक्छ ।

५. विभिन्न विकिरणको प्रयोगले पनि थाइराइड क्यान्सर हुने सम्भावना रहन्छ ।

थाइराइडका लक्षणहरू

हर्मोनको गडबडी भएमा शरीरमा थाइराइड रोगका विभिन्न लक्षण देखा पर्न सक्छन्। त्यसमध्ये केही लक्षण यी हुन्स्
– कपाल धेरै झर्ने
– दुब्लाउने वा मोटाउने
– शरीरमा पसिना बढी आउने वा कम आउने
– निद्रा बढी लाग्ने वा कम लाग्ने
– कब्जियत हुने वा झाडापखाला लाग्ने
– महिनावारी गडबडी हुने
– मुटु जोडसँग ढुकढुक हुने
– हात काँप्ने
– गर्मी बढी हुने वा जाडो हुने
– छाला खस्रो हुने
– निःसन्तान समस्या

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?