फिर्के खोलामा चल्यो महानगरको डोजर : हट्दै अतिक्रमण, बन्दै करिडोर

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । पोखरा महानगरपालिकाले लामो समयदेखि रोकिँदै आएको फिर्के खोलाको अतिक्रमण हटाउने कार्य औपचारिक रूपमा सुरु गरेको छ । बजारको बीच भाग हुँदै बग्ने फिर्के खोलामा बनेका अवैध संरचना हटाउने अभियान पहिलो दिन शान्तिपूर्ण रूपमा सम्पन्न भएको महानगरले जनाएको छ ।

महानगरका अनुसार खोलाघर क्षेत्रमा व्यक्तिगत तथा संस्थागत गरी दर्जनौँ स्थायी र अस्थायी संरचना निर्माण भएका थिए। अघिल्लो कार्यकालदेखि नै अतिक्रमण हटाउने प्रयास भए पनि स्थानीय विरोध र कानुनी चुनौतीका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन। यसपटक भने संघीय सरकारको सहयोगसहित अभियान अघि बढाइएको हो ।

महानगरले अतिक्रमण हटाउने कार्यलाई निरन्तर अभियानका रूपमा अघि बढाइने जनाएको छ । स्थानीय बासिन्दाले संरचना हटाउने कार्यमा सहयोग गरे पनि मापदण्ड र भविष्यको व्यवस्थापनबारे केही असन्तुष्टि व्यक्त गरेका छन् ।

महानगर प्रमुख धनराज आचार्यका अनुसार फिर्के करिडोर परियोजनामार्फत खोलालाई व्यवस्थित सहरी पूर्वाधारमा रूपान्तरण गरिने योजना छ । करिडोरमा दायाँ बायाँ कम्तीमा छ मिटर मापदण्ड कायम गर्दै फुटट्रेल, साइकल लेन र पैदलमार्ग निर्माण गरिनेछ ।

त्यस्तै हरियाली क्षेत्र, स्थानीय बोटबिरुवा, ढुङ्गे तटबन्ध, स्मार्ट बत्ती, खुला सार्वजनिक क्षेत्र, विश्रामस्थल, कफी तथा खुला क्याफे, सेल्फी स्पट र बाल तथा ज्येष्ठ नागरिकमैत्री संरचना निर्माण गर्ने योजना महानगरले अघि सारेको छ ।

फिर्के खोलालाई प्राकृतिक स्वरूपसहित पर्यटन र नागरिक जीवनशैलीसँग जोड्ने लक्ष्य राखिएको महानगरको भनाइ छ । परियोजनाले पोखरालाई हरित, स्वच्छ र आधुनिक नदी–करिडोर सहरका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।

फिर्के खोला करिब ८ किलोमिटर लामो छ, जुन फेवा ताल क्षेत्रसम्म फैलिएको मानिन्छ । महानगरले खोलाघर हटाइसकेपछि करिडोर निर्माणको विस्तृत योजना कार्यान्वयन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?