दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहन्छु : उपसभामुख ठाकुर

लोकपथ
14
Shares

सर्लाही । उपसभामुख रुवीकुमारी ठाकुरले मधेसमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहने बताएकी छन् ।

सर्लाहीमा आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलन कार्यक्रममा बोल्दै उपसभामुख ठाकुरले बालविवाह र दाइजो प्रथा मधेसबाट मात्र नभई देशभरबाट अन्त्य हुनुपर्नेमा जोड दिइन् ।

उनले छोरीलाई बोझ मान्ने लैङ्गिक विभेदका कारण बालविवाह हुने गरेको उल्लेख गर्दै मधेस समाजले छोरीलाई सम्मान गर्न सिक्नुपर्ने बताइन् । ‘छोरी जन्मिनु दुःखको विषय होइन, माता सीताको जन्मभूमिमा छोरी जन्मनु सौभाग्यको कुरा हो,‘उनले भनिन् ।

उपसभामुख ठाकुरले बालविवाह र दाइजो प्रथाले विवाहपछिको पारिवारिक सम्बन्धमा विखण्डन ल्याउने बताइन् । पछिल्लो समय किशोरकिशोरी घर छाडेर हिँड्ने घटनाप्रति सङ्केत गर्दै उनले अभिभावकको सुझावलाई गलत नठानी संवादमार्फत अघि बढ्न आग्रह गरिन् ।

कार्यक्रममा नीतिमा कार्की भण्डारी ले दाइजो र बालविवाह प्रथा मधेसमा लामो समयदेखि कायम रहेको बताउँदै शिक्षा नै यस्ता कुरीति अन्त्य गर्ने मुख्य माध्यम भएको धारणा राखिन् । उनले छोरीहरूको शिक्षामा जोड दिन अभिभावकलाई आग्रह गरिन् ।

कार्यक्रममा मधेस प्रदेशका विभिन्न पालिकाका उपाध्यक्ष तथा उपप्रमुखहरूको सहभागिता रहेको थियो । सो अवसरमा छोरीलाई कक्षा १२ सम्म पढाएर २० वर्षपछि विवाह गराउने अभिभावक, बुहारीलाई स्नातकसम्म पढाउने परिवार तथा बिना दाइजो विवाह गर्ने जोडीलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

यसैबीच चन्द्रनगर गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि २० वर्षपछि विवाह गर्ने छोरीलाई विवाह मण्डपमै पुगेर नगद ५० हजार रुपैयाँसहित सम्मान गर्दै आएको जनाएको छ । गाउँपालिकाले कक्षा १२ सम्म अध्ययन गर्ने छोरीहरूलाई प्रोत्साहनस्वरूप एकमुष्ट ११ हजार रुपैयाँसमेत उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?